झाडापखालाबाट गुल्मीमा एक बालकको मृत्यु, एक सय ७७ जना बिरामी

Advertisement

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ ।

झाडापखालाका कारण १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको नगरकार्यपालिका सदस्य हरि छन्त्यालले जानकारी दिए । झाडापखाला लागेर बिरामी भएका बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका ज्यान गएको हो ।

आइतबारदेखि फैलिएको झाडापखालाबाट दजाकोटमा एक सय ७७ जना बिरामी परेको पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए । बिरामीमध्ये एकजनाको चितवन मेडिकल कलेज, ३ जनाको रेसुङ्गा अस्पत्ताल र ६ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । अन्यको गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको छ ।

स्थानीयले उपभोग गर्दै आएको पानीको नमुना परिक्षण गर्दा प्रतिलिटर १४० का दरले पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले बताएको छ ।

झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ । गएको एक वर्षदेखि नियमित रुपमा ८५ घरपरिवारले उपभोग गर्दै आएको पानी दूषित भएपछि स्थानीयहरु पानीको समस्यामा परेका हुन् ।

झाडापखाला फैलिएको गाउँमा बिहीबारदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली गाउँमै पुगेर बिरामीको उपचार गरिहेको छ । साथै, विश्व स्वास्थ्य स‌ंगठनको टोली समेत गाउँमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement