झाडापखाला प्रभावित बस्तीमा खानेपानी समस्या, नगरपालिकाले बाँडेको मिनरल वाटरले पुगेन्

Advertisement

तम्घास । झाडापखालाको प्रकोप फैलिएको गुल्मीको मुसिकोट नगरपालीका–४ दजाकोटका बासिन्दा यतिबेला खानेपानीको समस्यामा छन् । गत सातादेखि उक्त बस्तीमा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेसँगै स्थानीयले उपभोग गर्दै आएको पानी प्रयोग गर्न छाडेका छन् ।

पानी दूषित हुँदा झाडापखाला फैलिएपछि मुसिकोट नगरपालिकाले तत्काललाई ट्याङ्करको पानी र मिनरल वाटर वितरण गरेर अस्थायीरुपमा स्थानीयका लागि पानीकोे व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । पानीको सङ्क्रमणबाट थप बिरामी नहुन् भनेर नगरपालिकाले झाडापखाला पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म प्रत्येक घरलाई मिनरल वाटर उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले वितरण गरेको उक्त पानी स्थानीयलाई पर्याप्त नभएपछि गाउँलेले एक घण्टा टाढाको दूरीबाट कुवा र पधँेरोबाट पानी बोकेर गुजारा चलाउन बाध्य बनेको स्थानीय जनप्रतिनिधि हरि छन्त्यालले बताए ।

नगरपालिकाले तत्काल समस्या समाधान गर्नका लागि दजाकोटका स्थानीयले विगतमा मिलिजुली उपभोग गर्दै आएको उपल्लो दजाकोटको पानी आलोपालो गरी प्रयोग गर्ने विषयमा छलफल गरिएको नगर प्रमुख सापकोटाले बताए । प्रकोपबाट प्रभावित क्षेत्रमा तीन महीना भित्रमा लिफ्टिङबाट खानेपानी पुर्याउने तयारी भइरहेको र हाल विद्युत्को समस्याका कारण उक्त खानेपानी सञ्चालन गर्न ठिला भएको सापकोटाको भनाइ छ ।

दूषित पानीका कारण झाडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनको टोलीले प्रकोप क्षेत्रमा पुगेर बिरामीको दिसा र पानीको नमूना सङ्कलन गरेको छ । विश्व स्वास्थ्य सङ्गठन र जिल्ला स्वास्थ्य कार्यालयबाट गएको टोलीले आज प्रभावित क्षेत्रमा पुगेर पाँच जनाको दिसा र तीन पानीको नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएको छ ।

टोलीले स्थानीय पानीको मूल, धारा र टयाङ्कीको पानीको नमूना सङ्कलन गरेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए । प्रकोप क्षेत्रमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले सोमबार त्यहाँका महिला स्वयंसेविका र स्थानीयसँग खानेपानीको व्यवस्थापन र सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गत सातादेखि फैलिएको झाडापखालाबाट दजाकोटमा शनिबार स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजालीको ज्यान गएको छ । झाडापखालाबाट आज साँझसम्म १९२ बिरामीलाई अस्थायी शिविरमार्फत उपचार गरिएको स्वास्थ्य संयोजक जिसीले बताए । बिरामी परेकामध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घास र एक जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अहिले प्रकोप फैलिएको बस्तीको झाडापखाला विस्तारै नियन्त्रणमा आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement