सरकारले कर छली गरेको भन्दै टुटललाई ३ करोड ३९ लाख कर तिर्न पत्र जारी गर्यो

Advertisement

काठमाडौं । ‘राइड सेयरिङ’ कम्पनी टुटलले ग्राहकबाट उठाएको र आफूले पनि तिर्नुपर्ने कर नतिरेको पुष्टि भएको छ । ३ करोड ३९ लाख बराबरको कर छलिएको भेटिएको ललितपुरको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । कार्यालयले कर छली गरेको ठहर गर्दै कम्पनीलाई दाखिलाका लागि पत्र लेखेको हो ।

यस सेवामा ३ वर्षको अवधिको मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, जरिवाना र ब्याज समेत जोडिएको छ । कार्यालयले लामो समय लगाएर टुटलको कारोबारको अनुसन्धान गरेको थियो । टुटलले सुरुमा जानकारी नभएर भ्याट उठाएको र कर कसरी कहाँ कुझाउने भन्ने जानकारी नहुँदा यस्तो अवस्था आएको जवाफ कार्यालयलाई दिएको थियो ।

कम्पनीले सेवा सुरुआतको वर्षमा ग्राहकसँग भ्याटसहितको रकम जोडेर शुल्क उठाएको थियो । तर, उठाएको करबापतको रकम सरकारलाई बुझाएन । पछिल्लो वर्ष भने उसले भ्याट शीर्षकमा कर उठाउन छाड्यो ।

टुटलले आफ्नो आय कर पनि नतिरेको भेटिएको छ । आय कर पनि नतिरी व्यवसाय चलाएकाले त्यसअनुसार कर निर्धारण गरेर त्यसमा ब्याज र हर्जना पनि लगाइएको छ ।

टुटल सार्वजनिक सवारीसाधनको यात्रा सहज नभएको बेला भाडा तिरेर मोटरसाइकलमा यात्रा गर्न पाइने सेवा हो । आफ्नो मोबाइलमा ‘टुटल एप’ राखेपछि यात्रुले मोटरसाइकलवालालाई सम्पर्क गरेर तत्काल यो सुविधा लिन सक्छन् । पछिल्लो समयमा टुटलको यो सेवा युवामाझ निकै लोकप्रिय छ । हाल टुटल प्रयोगकर्ताको संख्या ५० हजार नाघिसकेको कम्पनीले बताएको छ ।

हालका यातायात विभागका महानिर्देशक कुमार दाहाल टुटल, पठाओ जस्ता कम्पनीको सेवा अवैधानिक भएकाले यसलाई बन्द गर्नुपर्ने पक्षमा छन् । नेपालको कानूनमा भाडाका सवारीले मात्रै शुल्क लिएर यात्रु बोक्न पाउँछन् ।

Advertisement

Advertisement

Advertisement