सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द, काठमाडौंमा फेरि फोहोर थुप्रिने चिन्ता

Advertisement

काठमाडौँ । स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन् ।

करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा बत्ती नबलेपछि आक्रोशित स्थानीयले उपत्यकाका १८ स्थानीय निकायको फोहोर ढुवानी ठप्प पारेका हुन् ।

ककनी गाउँपालिका १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले आफ्नै नेतृत्वमा फोहोर ढुवानी बन्द भएको बताउँदै भने– म पार्टीको भन्दा जनताको वडाध्यक्ष हुँ, जनताको मत जितेर वडाध्यक्ष भएकाले जनताकै पक्षमा लागेर फोहोर बन्द गर्न सहयोग गरेको हुँ ।

वडा कार्यालयले गएको शुक्रबार सिसडोल साइट अफिसमा निवेदन दर्ता गराएको साइट इन्चार्ज सरकारद्धीप श्रेष्ठले जानकारी दिए । निवेदन आएलगत्तै नेपाल विद्युत प्राधिकरणलगायतका निकायलाई जानकारी गराएको उनको भनाइ थियो ।

श्रेष्ठले महानगरपालिकाले १० परिवारको करिब ४२ रोपनी जग्गाको सबै माटो निकालेकाले उक्त जग्गाको क्षतिपुर्ति नदिएसम्म फोहोर ढुवानी गर्न नदिने दावी गरे । उता ल्याण्डफिल साइटले माटो भर्न जग्गा लिएपछि पीडित परिवारले मुआब्जाको माग राखी लालपुर्जा लिएर आन्दोलन गरिरहेका छन् ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीकुमार श्रेष्ठले स्थानीयले महानगरपालिकासंग असम्बन्धीत माग राखेर दुःख दिएको आरोप लगाउँदै भने– कहिले ट्रान्समिटर बिग्रिएर त कहिले गाडीले कुखुरा मारेको आरोप लगाएर, कहिले घर भत्काएका लगायत दर्जनौ माग राखेर पटक पटक फोहोर व्यवस्थापनमा अवरोध गर्ने गरेका छन् ।

माग पुरा गर्दागर्दै महानगरपालिका हैरान भैसकेको छ । उनले समस्या समाधान गर्ने विषयमा विद्युत प्राधिकरण लगायत सम्बन्धीत निकायसंग छलफल भैरहेको जानकारी दिँदै श्रेष्ठले नयाँ–नयाँ माग राखेर ढुवानी ठप्प पार्दा समस्या बढेकाले दिर्घकालिन रुपमा समस्या समाधान गर्न सबै सरोकारवाला अघि बढ्नुपर्ने धारणा राखे ।

जग्गाको मुआब्जा दिने वा भाडामा लिने विषयमा सोमबार दिउँसोभर कामपाको वागदरबारस्थित मुख्यालयमा वार्ता भए पनि आ–आफ्नै अडानले माग पुरा भएन । स्थानीयले विभिन्न माग राख्दा महिनामा चार पटकसम्म फोहोर व्यवस्थापनमा अवरोध हुने गरेको छ । कम क्षमता भएको ट्रान्समिटर राख्दा सो स्थानमा पटक पटक समस्या आउने गरेकाले दीर्घकालिन समाधान हुनुपर्ने बताइन्छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement