वैदेशिक रोजगार विभागले नवीकरण नगर्ने १० म्यानपावर खारेज गर्यो (नाम सहित)

Advertisement

काठमाडौं । बैदेशिक रोजगार विभागले समयमा नवीकरण नगर्ने १० ओटा म्यानपावरको दर्ता खारेज गरिएको छ । वैदेशिक रोजगारीका नाममा एक देश भनेर अर्को देश पुर्याउने, एउटा काममा समझदारी गरेर अर्को काममा खटाउने, काम र कमाइको प्रलोभनमा मोटो रकम असुल्ने तथा कामदार विदेश नपठाउनेलगायत कार्य गरी कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीहरुविरुद्ध आएको पीडितको उजुरीको आधारमा म्यानपावर कम्पनी खारेज गरिएको हो ।

विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार यी म्यानपावर कम्पनीहरुले नियमविपरीत काम गरेको र नवीकरणसमेत नगराईएको र सेवाग्राहीलाई ठगी गरेको भन्दै खारेज गरिएको हो ।

विभागले समयमा नै नवीकरण नगर्ने र पटक पटक गल्ती दोहोर्याईरहेको भन्दै १० म्यानपावर कम्पनी खारेज गरेको हो । विभागका अनुसार खारेज भएका कम्पनीहरुमा स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस र प्रिसाइस इन्टरनेशनल प्रालि रहेका छन् ।

यसैगरी खारेज हुने म्यानपावर कम्पनीमा इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रसिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि पनि रहेका छन् ।

हाल १४ सयभन्दा बढी म्यानपावर कम्पनीहरु विभागमा दर्ता भएका छन्। जसमध्ये ११ सय हाराहारीमा मात्रै म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेको विभागको तथ्यांकले देखाएको छ । कम्पनी खारेजकै प्रसंगमा भने यसअघि विभागले ११७ म्यानपावर कम्पनी खारेज गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement