उदयपुरमा हात्तिको आक्रमणबाट ज्यान गुमाएका मगरको परिवारलाई १० लाख राहत

Advertisement

उदयपुर । उदयपुरमा जंगली हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ शुक्रबारे भाटेपुल एकटा टोल बस्ने ५७ वर्षिय वुद्धिमान मगरको परिवारलाई राहत स्वरुप १० लाख रुपैँया उपलब्ध गराइएको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद आचार्यले श्रीमति तिर्थ माया मगरलाई मंगलबार १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

राहत रकम लिन कार्यालय आईपुगेका मगरका श्रीमतिलाई प्रमुख आचार्यले कान्तिपुरका सञ्चारकर्मी डिल्लीराम खतिवडा र बरुवा टाइम्स दैनिकका प्रकाशक रविन्द्रकुमार चौधरी र वन पैदाबार उदयपुरका कोषाध्यक्ष खिलराज पोखरेल, डिभिजन वन कार्यालय गाईघाटका लेखापाल महेश वाग्लेको रोहवरमा चेक हस्तान्तरण गरेका हुन् । गत मंसिर २६ गते दिउँसै घर नजिकै खयरघारीमा गाईवस्तु चराउन गएको अवस्थामा हात्तीले ४१ बर्षीय मगरलाई कुल्चिदा ज्यान गएको थियो ।

हात्तिको आक्रमणबाट ज्यान गुमाएको पुष्टि भएपछि कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका २०६९ दोश्रो संसोधन २०७४ को दफा ५ (क) (ई) वमोजिम राहत उपलब्ध गराउनका लागि तत्कालिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस गरेको कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए ।

जंगली हात्तिको आक्रमणबाट चालु आर्थिक बर्षमा मात्रै तीन जनाले ज्यान गुमाएका छन् । हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ का अपाङ्ग रामकुमार सार्की, बुद्धिमान मगर र त्रियुगा नगरपालिका १२ का ७८ बर्षीया सावित्रा राई रहेको छ । सार्की र मगरलाई राज्यले क्षतिपूर्ति स्वरुप १० लाख उपलब्ध गराई सकेको छ ।

सार्कीलाई गत साउन ३० गते र राईलाई पुस १५ गते जंगली हात्तिले आक्रमण गरेको थियो । आरक्षबाट निस्किएका जंगली हात्तिले बर्षेनी झण्डै आधा दर्जनको संख्यामा सर्वसाधरणलाई आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएको अन्नवालीसमेत नष्ट गर्ने गरेको छ ।

Advertisement

Advertisement

Advertisement