'सबै मिलेर समृद्ध नेपाल, सुखी नेपाली बनाउ भन्दा किन नकारात्मक ?'

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश संवृद्ध बनाउँ भन्दा नकारात्मकरुपमा लिइएको भन्दै गुनासो पोखेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सबै मिलेर समृद्ध नेपाल बनाउ, सुखी नेपाली बनाउ भन्दा उल्टै सहयोग नपाएको गुनासो गरे ।

‘यो देश समृद्ध बनाउ भन्दा छाति किन पोल्ने ? नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती हुने ? भन्दै उनले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो भने किन नकारात्मक हुनुपर्यो ? भनी प्रश्न गरे । ओलीले नेपाल धनी र समृद्ध हुनुपर्छ, नेपाली जनताले दुःख पाउनुहुँदैन भन्ने सबैको चाहना हो भने नकारात्मक नहुन आग्रह गरे ।

दुःखको दिन अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उनले भने, ‘हरेक नेपालीे सुख पाउनुपर्छ, चेहरामा मुस्कान छाउनुपर्छ, सरकार र नेकपाको धारणा यही हो।’ श्रमजिवी, असहाय, पिछडिएका वर्गलाई सरकारले ध्यान दिने ओलीले बताए ।

प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा भएका श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको सुनाउँदै श्रमिकहरुको रगत, पसिना र मेहनत खेर नगरेको बताए । मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पुर्याइएको उनले तर्क गरे ।

ओलीले मजदूर वर्गीय विचारबाट देश अघि बढिरहेको भन्दै समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन भने । उनले मजदूर सङ्गठनले विभिन्न विचारधारा राख्ने सबैलाई एक ठाउँमा ल्याएको बताउँदै मजदुरका पक्षमा निकै राम्रो काम वर्तमान सरकारले गरेको जिकिर गरे ।

ओलीले भने, “१०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ, हामी एक भएर अगाडि बढ्नेछौँ ।”

विगतमा मिलेर काम गर्दा साझा आन्दोलन र साझा उपलब्धि हासिल भएको बताउँदै उनले भने, “हामी मिलेर अगाडि बढौँ मिलेर उपलब्धि हासिल गरौँ, मजदूर सङ्गठनबाट सिकेर एकताका साथ अघि बढौँ ।” लगानीका लागि नेपालमा अनुकूल वातावरण बनेको उल्लेख गर्दै ओलीले देशले अहिले सुशासन र विकास खोजेको बताए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता र समाजवादी आन्दोलनको नयाँ र सफल ढाँचा विश्वलाई दिन सक्नुपर्ने बताए । उनले भने, “विकास, समृद्धि र समाजवादको सफल नयाँ ढाँचा हामीबीच एकता, समझदारी र सङ्कल्पबाट मात्र सम्भव छ, त्यसका लागि के सत्ता पक्ष के प्रतिपक्ष एक भएर अघि बढ्नु पर्दछ ।”

अझै पनि समाजवादी कि पूँजीवादी बाटोमा अघि बढ्ने भन्ने चुनौती रहेको बताउँदै प्रचण्डले संविधानको मौलिक हकमा उल्लेखित विषयवस्तु कार्यान्वयनमा चुनौती भए पनि त्यसलाई अवसरका रुपमा लिएर अघि बढ्न सक्नुपर्छ भने ।

राजनीतिक परिवर्तनको आन्दोलनमा श्रमिकको बलिदानीपूर्ण योगदान नभएको भए अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन भन्दै उनले अझै पनि ठूलो सङ्ख्यामा अभाव र अपमानमा बसेका मजदूरको हितका खातिर कम्युनिष्ट आन्दोलन आक्रमकरुपमा अघि बढिरहेको बताए ।

उपप्रधानमन्त्री एवं सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र प्राप्तिका लागि मुलुकमा भएका हरेक आन्दोलनमा श्रमिक वर्गका श्रम र पसिना बगेको बताए । उनले भने, “सामाजिक सुरक्षा र श्रमिकको हित तथा अधिकारका लागि कानून बने पनि व्यवहारमा लागू गर्न निकै चुनौती छ, श्रमको सम्मान गर्ने विधि र प्रणाली हामीले स्थापित गर्न आवश्यक छ ।”

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले जनआन्दोलनका बलमा प्राप्त गरेको प्रणालीलाई सफल बनाउन सङ्घीय सरकार गठन गरेर मात्र पुग्दैन अधिकार हस्तान्तरण हुन आवश्यक छ भने । उनले भने, “भू–माफिया र विभिन्न काण्डमा संलग्न व्यक्तिलाई खबरदार उम्काउने काम नहोस्, रोजगारी बढाउने, लगानी भित्र्याउने र उत्पादन बढाउने काममा लाग्नुहोस्, तर विपक्षका लागि अरिगाल उत्पादन र बुद्धिजीवीलाई थलो पार्ने काम नगर्नुस् ।”

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आगामी पाँच वर्षभित्रमै काम विशेषले बाहेक बाध्यात्मक परिस्थितिले रोजगारीका लागि विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले भने, “श्रमिकमाथि कुनै नाममा हुने शोषण अन्त्य गर्न सरकार प्रतिबद्ध छ, सामाजिक न्यायसहितको सुरक्षा ऐन कार्यान्वयन गरिनेछ, लगानीमैत्री वातावरण र गुणस्तरीय रोजगार तयार हुनेछ ।”

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले मात्र विकास सम्भव नहुने भएकाले सङ्घीयताको मर्म र भावनाअनुरुप काम गर्न सरकारलाई सुझाव दिए।

‘सबै न्यायिक रोजगार दातालाई आह्वान सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ मूल नाराका साथ १३०औँ अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइएको हो ।

Advertisement

Advertisement

Advertisement