राष्ट्रपति आउँदा सडक यातायात मात्रै होइन् अन्तर्राष्ट्रिय उडानहरु नै बन्द

Advertisement

काठमाडौं । चीनको आठदिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन् । नौदिने कार्यतालिका लिएर ११ वैशाखमा चीनको बेइजिङ उडेकी राष्ट्रपति एक दिन भ्रमण छोट्याएर फर्किएकी हुन् । ल्हासा भ्रमणका क्रममा हाई अल्टिच्युडले उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू, उच्च सरकारी अधिकारीलगायतले स्वागत गरेका थिए ।

भण्डारी बेइजिङमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्मेलनमा सहभागी भइन् । बेइजिङमा रहँदा उनले चिनियाँ समकक्षी सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्तासमेत गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सकेर स्वदेश फर्किने क्रममा पनि दुईवटा जहाज काठमाडौंको आकाशबाट डाइभर्ट भएका छन् । चीनको कुन्मिङबाट आएको एयर चाइनाको जहाज ल्हासा र दोहाबाट आएको हिमालयन एयरलाइन्सको जहाज भारतको कोलकाता डाइभर्ट भएका हुन् । राष्ट्रपति भण्डारी भने ११ वैशाखमा चीन भ्रमणमा निस्किने क्रममा ल्हासा डाइभर्ट भएको सिछुआन एयरको जहाजबाट काठमाडौंमा अवतरण भइन् ।

राष्ट्रपतिको आगमनका कारण बुधबार दुई जहाज डाइभर्ट मात्रै भएनन्, बिहान साढे १० बजेपछिका दुई सयभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका पछाडि धकेलिए । यस्तै, संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान पनि आकाशमै होल्ड भयो । बिहान १० बजे राष्ट्रपति भण्डारी सवार सिछुआन एयरको जहाज अवतरण हुने तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान ९ः५० देखि १०ः३० सम्मको समयका लागि नोटाम जारी गरेको थियो । नोटाम कुनै पनि भिआइपी उडान हुने समयमा अन्य सामान्य उडान गर्न नमिल्ने सूचना हो ।

११ वैशाखमा राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदा पनि विमानस्थलका तालिकाबद्ध सबै उडान ढिला भएका थिए । गणतन्त्र स्थापनापछि पनि विदेश यात्रामा निस्कने उच्चपदस्थ व्यक्तिहरूको उडानका लागि विमानस्थलमा सबै उडान रोकिनु गणतान्त्रिक व्यवस्था सुहाउँदो नभएको भन्दै आलोचना हुँदै आएको छ ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement