भूमाफियाले टुकुचा खोला पनि गायव बनाए, मिचिएको जग्गामा बैंकदेखि सपिङ सेन्टर

Advertisement

१. बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्छ । २. नारायणहिटीभित्र पनि खोला साँघुरो छ, तर बगेको स्पष्ट देखिन्छ, जयनेपाल हलअगाडिको पर्खालसम्म खोला छ । ३. जयनेपाल हलबाट दक्षिणतर्फ कमलादी मोडसम्म खोलाको नामोनिसान छैन, खोला भूमिगत बनाएर भव्य भवन बनेका छन् ।

काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको पाँच सय मिटर लम्बाइको टुकुचा खोला नक्साबाटै गायब भएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाको अनुरोधमा हामीले टुकुचा खोलामा मिचिएको जग्गा खोजी गर्‍यौँ । स्थलगत अध्ययनमा पनि टोली गए । खोला बग्ने ठाउँमा पक्की घर बनेको पाइयो । हामीले नक्सा अध्ययन गर्‍यौँ । नापी कार्यालयलाई पत्र लेख्यौँ । नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठायो । हामी चकित परेका छौँ ।’

प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ । तिवारीका अनुसार काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्म सरदर कम्तीमा चार मिटर चौडाइ छ । यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । जय नेपाल हल क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोड पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँबराबरको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।

‘साबिकको टुकुचा खोला बग्ने भाग बढीमा १० र कम्तीमा दुई मिटरसम्म चौडा रहेको देखिन्छ । दुई मिटर चौडाको दरले हिसाब गर्दा पनि पाँच सय मिटर लम्बाइको खोलामा झन्डै पाँच रोपनी जग्गा मिचिएको देखिन्छ । सरदरमा चार मिटर मान्ने हो भने मिचिएको जग्गा डबल हुन पुग्छ । प्रतिआना एक करोड रुपैयाँको दरले मात्रै हिसाब गर्दा पनि मिचिएको जग्गाको मूल्य निकै महँगो पर्न जान्छ,’ प्राधिकरणका प्रमुख आयुक्त डा. तिवारीले बताए ।

प्राधिकरणको दाबी– ०२१ को नापीमा टुकुचा थियो, ०३३ मा गायब पारियो, नापी कार्यालय भन्छ– ०३३ अघिको कुनै विवरण छैन

डिल्लीबजारस्थित नापी कार्यालय काठमाडौंको रेकर्डमा खोला गायब भएको ठाउँ ०३३ मा नापी भएको छ । त्यसवेला तयार पारिएको नक्सामा प्राधिकरणले भनेझैँ टुकुचा खोला गायब नै छ । प्राधिकरणका अनुसार त्यस क्षेत्रमा ०२१ सालमा पनि नापी भएको थियो । सो नापीमा काठमाडौं प्लाजा–जय नेपाल हल क्षेत्रमा टुकुटा थियो । ०२१ को नापी नक्सा नापी कार्यालयसँगै हुनुपर्ने प्राधिकरणको दाबी छ । तर, नापी कार्यालय ०३३ मा लिएको नापी नक्साबाहेक विवरण नभएको बताउँछ ।

‘हामीसँग ०३३ मा लिइएको नापी नक्सा मात्रै भएको पाइयो । त्यसअघि र पछि नापी गरिएको कुनै विवरण छैन । ०३३ को नक्सा हेर्दा जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको भागमा टुकुचा खोला गायब भएको देखिन्छ,’ नापी कार्यालयका सूचना अधिकृत सुमन श्रेष्ठले भने ।

मिचिएको जग्गामा बैंकदेखि सपिङ सेन्टर
बुढानीलकण्ठ हुँदै बगेर आएको टुकुचा खोला नारायणहिटी दरबार परिसर पूर्व–दक्षिण मोहडास्थित बाँसको झाङसम्म सतहमा देखिन्छ । त्यसपछि तल आउँदा गायब भएको खोला एकैपटक काठमाडौं प्लाजा पछाडितर्फको सतहमा बगेको देखिन्छ । प्राधिकरणका अनुसार बाँसको झाङदेखि प्लाजासम्म खोला बग्न इँटाको फराकिलो आर्क बनाइएको छ । खोला सोही आर्कभित्र निरन्तर बग्दै आएको छ । आर्कभन्दा माथिको भाग माटोले पुरेर भूमाफियाले निजी नाममा दर्ता गरेका छन् ।

डिल्लीबजारस्थित मालपोत कार्यालयका अनुसार उक्त जग्गामा अहिले लक्ष्मी बैंकको प्रधान कार्यालय छ । जय नेपाल हलको पार्किङ क्षेत्र पनि मिचिएको सोही जग्गामा पर्छ । सिद्धार्थ बैंकको कार्यालय रहेको भवन पनि मिचिएको सोही जग्गामा बनेको छ । एसबिएल डेभलपर्सले मिचिएको सोही जग्गामा पक्की भवन बनाई व्यापारिक प्रयोजनमा लगाएको छ । ओमकारशमशेर जबरा, महेन्द्रराज वैद्य तथा गौरी श्रेष्ठले पनि मिचिएको सोही जग्गा वषौंदेखि निर्बाध रूपमा भोगचलन गर्दै आएका छन् । त्यसबाहेक ट्राभल एन्ड टुरिजमसम्बन्धी कार्यालय रहेको भवन, रेस्टुरेन्ट, कफी सपदेखि सवारीसाधन पार्किङ क्षेत्र मिचिएकै जग्गामा निर्माण गरिएका छन् ।

प्राधिकरणका अनुसार टुकुचा अहिले पनि जय नेपाल हलको ठीक मुनिबाट, गल्फ ट्राभलको छेउ हुँदै लक्ष्मी बैंक, साख हाउस, सिद्धार्थ बैंक रहेको भवन लगायतस्थानबाट भूमिगत रूपमा बगेको छ ।

Advertisement

Advertisement

Advertisement