प्रदेश १ को नाम र राजधानी दर्ता गर्ने समयावधि थप

Advertisement

विराटनगर । प्रदेश नम्वर १ को नाम र राजधानीको टुंगो तत्काल नलाग्ने भएपछि प्रदेशसभामा प्रस्ताव गर्ने समयावधि थप गर्ने सर्वदलीय सहमति बनेको छ । विराटनगरस्थित बिग होटलमा बसेको सर्वदलीय बैठकले प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने समय २२ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकमा सबै दलको सहमतिको आधारमा नाम र राजधानी तोकेर जाने र बिहीबार दिनभर कसैले पनि प्रस्ताव दर्ता नगर्ने सहमति भएको छ । बैठकमा सहभागी संघीय लिम्बुवान मञ्चकी नेतृ तथा सांसद विष्णुमाया तुम्बाहाम्फेले मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगर राख्ने विषयमा प्रष्ट कुरा राखे पनि नामको विषयमा स्पष्ट नभनेको बताइन्। यसअघि मुख्यमन्त्री शेरधन राईले नयाँ स्याटेलाइट सिटीको रुपमा विकास गरेर सोही क्षेत्रलाई राजधानी बनाउने बताएका थिए।

बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बुवान मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दिरा राई सहभागी थिए। प्रदेशको नाम र राजधानीको विषयमा नेकपा टुंगोमा पुग्न नसक्दा छलफल लम्बिने भएको छ।

नेकपाका पदाधिकारी तथा सांसदहरुबीच बिहानैदेखि छलफल जारी छ। दलहरु छलफलमै व्यस्त भएको कारण देखाउँदै बिहीबार १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ। सभामुख भण्डारीले प्रदेशसभाको अर्को बैठक २२ गते दिनको १ बजेलाई बोलाइएको जानकारी दिए।

Advertisement

Advertisement

Advertisement