काठमाडौं । ‘जनताको जलविद्युत अन्तर्गतको साञ्जेन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । साञ्जेनको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये सञ्चयकोषका सञ्चयकर्ता, कर्मचारी तथा म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर २ लाख ८८ हजार ८९७ जनालाई वितरण गरिएको हो ।
स्वीकृत आवेदनमध्ये १० कित्तामात्रै आवेदन गरेका ५९५२८ जनालाई १० कित्तामात्रै, २० कित्ता मात्रै आवेदन दिएका ७९ हजार ६४२ जनालाई २० कित्ता र बाँकी ३० कित्ता वा सोभन्दा माथि आवेदन दिएका आवेदकमध्ये ९१.२३ प्रतिशतलाई ३० कित्ताका दरमा शेयर बाँडफाँड गरिएको हो ।
बिहीबार उर्जा मन्त्रालयमा आयोजित बाँडफाँड कार्यक्रममा उर्जामन्त्री वर्षामान पुन समेतको उपस्थितिमा साञ्जेनको आईपीओ बाँडफाँड भएको हो । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आईपिओमा कूल एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता शेयरको माग भएको थियो । ३ लाख ५९७ आवेदनबाट २.७८ गुणा बढी शेयर माग भएको हो ।
२० देखि २ हजार कित्तासम्म आवेदन गर्ने २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार ३२८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्ताका दरले शेयर पाएका छन् । ८.७७ प्रतिशत अर्थात २० हजार ११४ आवेदकले थप १० कित्ता शेयर प्राप्त गर्न सकेनन्।
आईपिओमा आवेदन गरेर विविध कारणले ११ हजार ७०० वटा आवेदनबाट परेको ८ लाख ७३ हजार ५१० कित्ता रद्ध भएको छ भने २ लाख ८८ हजार ८९७ आवेदनबाट परेको एक करोड २९ लाख ९६ हजार २२० कित्ताको आवेदन सदर भएको थियो।
साञ्जेनले सर्वसाधारणहरुबाट ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो। कूल ५४ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा २ लाख १९ हजार कित्ता जलविद्युत कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ।