विवादका बीच निगमको ओसाका उडानको तयारी, असार १९ बाट उडान सुरु हुने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले आउँदो असार १९ गतेबाट जापानको ओसाका नियमित उडान सुरु गर्ने जनाएको छ । निगमले ओशाकामा हप्ताको तीन वटा उडान सञ्चालन गर्ने जनाएको छ ।

नेपालीहरुको धेरै बसोबास रहेको टोकियोमा उडान गर्न निगम व्यवस्थापनलाई निगम भित्र र बाहिरबाट दबाब भए पनि हालको व्यवस्थापनले भने आशाका नै उडान सुरु गर्न लागेको हो । यसअघि निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले निगमले खरिद गरेको वाइडबडी जहाज टोकियो उडानको योजना बनाएका थिए । तर निगमको कार्यकारी अधिकारसहित अध्यक्ष नियुक्त भएका मदन खरेलले भने टोकियो उडानको योजना रद्द गरी ओशाका उडान सुरु गर्न लागेका हुन् ।

अहिलेको योजनाअनुसार हप्ताको तीन दिन मंगलबार, बिहीबार र शनिवार निगमको जहाज आशाका जाने छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने छ ।

ओसाकाको सबै उडानहरु वाइड्वडी ए ३३०–२०० बाट हुनेछ । यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो । तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो ।

सन् २००० मा जापानबाट काठमाडौंका लागि सवभन्दा बढी ४१ हजार ७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए । राष्ट्रिय ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६१३ यात्रुमा सीमित भएको थियो ।

Advertisement

Advertisement

Advertisement