हुलाकी राजमार्गको मटेहिया खण्डमा देखिएको मुआब्जा विवाद साम्य

Advertisement

नेपालगञ्ज । बघौडा हुलाकी राजमार्गको नरैनापुरस्थित मटेहिया खण्डमा रहेको अवरोध हटेको छ । नेपालगञ्जदेखि नरैनापुर गाउँपालिकाको कटकुइँयासम्मको निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गत नरैनापुर गाउँपालिका–५ मटेहियास्थित निर्माण कार्यमा देखिएको अवरोध, सडक नक्साङ्कन, मुआब्जा विवाद साम्य भएपछि एक हप्तादेखि निर्माण कार्यले गति लिएको छ ।

चालु हुलाकी सडकखण्डभन्दा फरक सर्भे उत्तरतर्फ नापी भएपछि उत्पन्न विवाद बढ्न गई २०७५ वैशाखदेखि सडकको निर्माण कार्य अवरुद्ध रहेको थियो । बाँके क्षेत्र नं १ का प्रदेशसभा सदस्य कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, स्थानीय जग्गाधनीलगायत सरोकार पक्षसँग नियमित संवादमार्फत आपसी विश्वास कायम भएपछि विवाद साम्य भएको हो ।

हालसम्म १७ किलोमिटर सडक कालोपत्रे बनिसकेको गणपति ग्रुप कन्सट्रक्शनका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिए । उनका अनुसार एक हप्ताभित्र थप पाँच किलोमिटर सडक कालोपत्रे गर्ने र बाँकी ग्राभेलको कामलाई तीव्रता दिइनेछ ।

हाल चालु सडकलाई नै कायम राख्ने गरी निर्माण कार्यलाई अविलम्ब बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको व्यक्तिगत जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालु सडकमा पर्ने जग्गाको मुआब्जा १० मिटर दिने कुरामा लिखित सहमति भए पनि दुईजना जग्गाधनीले असमहति जनाएपछि सडक निर्माण कार्य रोकिन गएको थियो ।

जग्गाधनी बाबुलाल यादव र मासुम अलीलाई निर्माण कार्यमा अवरोध नगर्न गरिएको पटक÷पटकको आग्रहपछि अहिले सहज स्थितिमा निर्माण कम्पनीले माटो पटान, ग्राबेल, रोलरलगायतका कार्य बढाएको छ ।

हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माण कार्य आगामी असार मसान्तसम्म पूरा गर्नु पर्ने समयसीमा रहेको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहे पनि पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति गु्रप कन्ट्रक्सनलाई दिएको थियो ।

Advertisement

Advertisement

Advertisement