केस्रा–केस्रा केलाएर हेर्ने हो भने नीति तथा कार्यक्रम हावादारी छैन्: खनाल

Advertisement

काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बाहिर हल्ला भएजस्तो हावादारी नभएको जिकिर गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा खनालले मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यअनुरुप नै नीति तथा कार्यक्रम आएको दाबी गरे । उनले भने, ‘नीति तथा कार्यक्रमले सुधारको पहल गरेको छ । सुशासनको कुरा गरेको छ । नीति तथा कार्यक्रम कार्यान्वयनको वर्क–प्लान देखिएको छ ।’

खनालले केस्रा–केस्रा केलाएर हेर्ने हो भने नीति तथा कार्यक्रम कुनैपनि कोणबाट हावादारी नभएको जिकिर गरे । आफूले सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रमलाई आलोचनात्मक रुपमा हेरेको पनि उनले बताए ।

खनालले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई अघि बढाउने आयामको रुपमा नीति तथा कार्यक्रम आएको पनि विश्वास दिलाए । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका कार्यहरुलाई एकीकृत गर्ने काम पनि भएको उनको भनाई छ ।

यद्यपी कतिपय कार्यक्रमहरु महत्वकांक्षी रहेको पनि खनालले स्पष्ट पारे । उनले भने, ‘शहरीकरण गर्ने कुरा र ७ वटै प्रदेशमा उद्योग स्टेट खोल्ने कुरा अलिक महत्वकांक्षी छन् । त्यस्तै प्रत्येक गाउँपालिकामा औद्योगिक ग्राम खोल्नेलगायतका केही महत्वकांक्षी कार्यक्रमहरु पनि ल्याईएको छ ।’

उच्च आर्थिक वृद्धिद्धर हाँसिल गर्नको लागि र समृद्धिको मार्गमा मुलुकलाई अघि बढाउनको लागि नीति तथा कार्यक्रमले थप आधार प्रस्तुत गरेको खनालको दाबी छ । तर, केही कार्यक्रमहरु छरिएकोमा भने उनले गुनासो पोखे ।

अर्थविद् खनालले भने, ‘केही कार्यक्रमहरु छरिएका भएपनि ठिक ढंगले तर्जुमा गरिएका छन् । निजी क्षेत्रको लगानीको वातावरण बनाउनुपर्ने र उनीहरुको कारोबार र उत्पादन लागत कम गर्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्नेमा पनि जोड दिए । लगानीलाई सन्तुलित ढंगले परिचालन गर्नुपर्ने खनालले बताए ।

नौ महिनामा सरकारको पुँजीगत खर्च जम्मा ३५ प्रतिशतमात्रै भएको बताउँदै खनालले खर्च गर्नसक्ने क्षमता बढाउनुपर्ने बताए । दोहोरो आर्थिक वृद्धि हाँसिल गर्नको लागि सरकारले नीतिगत–संरचनागत सुधारतर्फ विशेष ध्यान दिनुपर्ने उनले सुझाए ।

अहिले जारी रहेका परियोजनाहरुलाई पूर्नसंरचना गरिएको, सरकारी खर्चको दक्षता बढाउने कामलगायत नीति तथा कार्यक्रममा राम्रा कुराहरु रहेको पनि खनालले सुनाए । निजी क्षेत्रको लगानी प्रर्वद्धनमा सरकारले जोड दिएको पनि उनले स्पष्ट पारे ।

कृषि अनुदानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि खनालले जोड दिए । त्यस्तै, सिँचाईको हकमा पनि सिक्टा, रानीजमारा, भेरी–बबई डाईभर्सन ठीक ढंगले अघि बढाउने कुरा कार्यक्रममा आएको उनले जनाए ।

त्यस्तै ५ लाख थप रोजगारी सिर्जना र ५० हजार रोजगारी बैंकिङ क्षेत्रबाट सिर्जना गरिने कुरापनि कार्यक्रममा समेटिएको भन्दै यो राम्रो पक्ष भएको टिप्पणी गरे । कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर सञ्चालनमा ल्याउने र योसँगै फाष्ट ट्रयाक, रेलवेजलगायत निर्माणको कुरा कार्यक्रममा समेटिएको उनले जनाए ।

आगामी एक वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा र आगामी दुई वर्षभित्र पूर्ण साक्षरता बनाउने कार्यक्रमपनि आएको भन्दै अर्थविद् खनालले यी सबै सकारात्मक कुरा भएको बताए ।

Advertisement

Advertisement

Advertisement