फोरम—नयाँ शक्तिबीच एकता,औपचारिक घोषणा भोलि गरिने

Advertisement

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले शनिबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकीकरणको औपचारिक घोषणा भने सोमबार गरिने भएको छ ।

एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको छ । नयाँ शक्ति संयोजक भट्टराईले यादवलाई पार्टीको कार्यकारी अध्यक्ष स्वीकार गर्ने भएका छन् । पार्टीमा शक्तिशाली संघीय परिषद् बनाउने र त्यसको अध्यक्षमा भट्टराई रहने भएका छन् । यो परिषद्मा एक हजार सदस्य रहनेछन् । स्रोतका अनुसार परिषद्लाई केन्द्रीय कार्यसमितिका निर्णय उल्ट्याउने अधिकार हुनेछ ।

केन्द्रीय कार्यसमितिको आकार करिब तीन सय हाराहारी हुनेछ । फोरमका करिब दुई सय सदस्य र नयाँ शक्तिका ९९ सदस्य एकीकृत पार्टीमा पनि सदस्य रहनेछन् । केन्द्रीय पदाधिकारीको संख्या २५ रहनेछ । फोरमका १६ र नयाँ शक्ति नेपालका ९ पदाधिकारी एकीकृत पार्टीमा पदाधिकारीकै हैसियतमा रहने छन् ।

२०७२ असोज २ मा संविधान जारी भएलगत्तै तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरेका थिए । उनी तत्कालीन माओवादी केन्द्रमा पुष्पकमल दाहालपछिको वरीयतामा थिए । फोरमसँग एकीकरणपछि पनि उनी दोस्रो वरीयतामै रहने छन् । दुई दल एकीकरणपछि प्रतिनिधिसभाको सांसद संख्या १७ पुग्नेछ । जसमा फोरमको मात्रै १६ जना सांसद छन् भने नयाँ शक्तिको एक जना छन् । ठूलो सांसद संख्याको हैसियतले संसदीय दलको नेतामा समेत फोरमका अध्यक्ष यादव रहने सहमति बनेको छ ।

Advertisement

Advertisement

Advertisement