कस्तो चल्यो ‘दाल भात तरकारी’ ?

Advertisement

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक हो ‘दाल भात तरकारी’ । शुक्रवारबाट प्रदर्शनमा आएको मल्टीस्टार फिल्म ‘दाल भात तरकारी’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको हो । प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवार फिल्मले देशभर आक्रामक व्यापार गरेको वितरक र निर्माताले जानकारी दिएका छन् ।

शुक्रवारको तुलनामा शनिवार फिल्मले दोब्बर बढी व्यापार गरेको रिपोर्ट प्राप्त छ । तर, फिल्मको माउथ पब्लिसिटी भने निकै कमजोर छ । शनिवार फिल्मले सिंगल थिएटर र मल्टीप्लेक्स स्क्रिन दुबैतिर आक्रामक व्यापार गरेको वितरक मध्येका एक गोपालकाजी कायस्थले बताए । शनिवार कलाकारसहित राजधानीका केही हलमा पुगेर दर्शक प्रतिक्रिया बुझेका फिल्मका प्रस्तुतकर्ता किरण केसी भने ‘फिल्मले देशभर हाउसफुल व्यापार गरिरहेको छ । दर्शकहरुले फिल्म निकै रुचाउनुभएको छ ।’ यो फिल्मलाई शनिवार राजधानीको ठूलो चेन मानिने क्यूएफएक्सले २४ सोज उपलब्ध गराएको थियो । फिल्मलाई उपलब्ध कुनै सोजमा दर्शक अभाव भएको थिएन ।

बिग मुभिज, क्यूज, विएसआरलगायतका मल्टीप्लेक्सहरुमा पनि शनिवार फिल्मको व्यापार राम्रो छ । मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने गोपीकृष्ण, अष्टनारायाण, गुणलगायतका हलमा पनि दर्शकको भीड लोभलाग्दो देखिएको थियो । शनिवार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसीले राजधानीका गोपिकृष्ण, अष्टनारायण, एफक्यूब लगायतका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए । फिल्मले अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथा वाचन गरेको छ । पटकथा र प्रस्तुतिकरण कमजोर हुँदा फिल्म हेरेका दर्शकले खासै राम्रो बोलेका छैनन् ।

फिल्मले प्रदर्शनको दुई दिनमा एक करोड दुई लाखको व्यापार गरेको निर्माण टिमबाट जानकारी प्राप्त छ । रिलिजपूर्व फिल्मले दुई दिनमा २ करोडमाथि व्यापार गर्ने अनुमान ट्रेड एनालिस्टहरुको थियो । तर, ब्रान्ड भ्यालु र राम्रो हाइप हुँदा(हुँदै पनि फिल्मले बक्सअफिसमा लोभलाग्दो व्यापार गर्न चुकेको छ ।

आइतवारबाट राजधानीका केही मल्टीप्लेक्सहरुले फिल्मको सोज घटाएका छन् । ‘दाल भात तरकारी’ मा निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, यमन श्रेष्ठ, जयनन्द लामा, मोहितवंश आचार्यलगायत कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् ।

Advertisement

Advertisement

Advertisement