नीति तथा कार्यक्रमबारे संसदमा सत्तापक्ष र विपक्षका आआफ्नै तर्क

samsad-parliament

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समयानुकूल र व्यवहारिक भएको दावीसहित सत्तारुढ दलका सांसदहरुले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले भने ‘पूरा नहुने सपना’ भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रपति विद्या भण्डारीद्धारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम माथि धारणा राख्दै सांसदहरुले आ–आफ्नै राजनीतिक दलको मूल्य र मान्यतामा रहेर समर्थन र विरोध गरे ।

united

सत्तारुढ दलका केही सांसदले भने नीति तथा कार्यक्रम समायनुकूल र प्रभावकारी रहेको टिप्पणी गर्दै केही विषयमा भने आलोचनात्मक धारणा राखे । सरकारको नीति तथा कार्यक्रमले ग्रामीण तथा दूरदराजका क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह गरेको भन्दै सत्तारुढ दलका सांसदले जनता उत्साहित बनाएको बताइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदले भने शब्दको आडम्बर र पूरा हुन गाह्रो पर्ने सपनाको फेहरिस्त भएको टिप्पणी गरे ।

नेकपाका सांसद दुर्गाकुमारी विश्वकर्माले सरकारको नीति तथा कार्यक्रमले ठूला भौतिक पूर्वाधारलाई जोड दिएको, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, रोजगारी वृद्धि गर्नेजस्ता कार्यक्रम सकारात्मक भए पनि शहीद, बेपत्ता र घाइतेका पक्षमा केही पनि नआएको तथा द्वन्द्वपीडितलाई कार्यक्रमले सम्बोधन गर्न नसकेको गुनासो गरे ।

उनले ‘जनयुद्ध’को समयमा शहीद भएकालाई शहीद घोषणा नभएकालाई शहीद घोषणा गर्न र तिनका आश्रित परिवारको जीविकोपार्जनका लागि व्यवहारिक कार्यक्रम ल्याउन आग्रह गरे । विश्वकर्माले १३ प्रतिशत दलित समुदायलाई सम्बोधन गर्ने कार्यक्रमसहित बजेटको व्यवस्था गर्न माग गरे ।

नेकपाकै सांसद हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने, ठूला भौतिक पूर्वाधारका विषय नीति तथा कार्यक्रममा समेटिएको भन्दै समर्थन गरे । उनले नेकपाका संस्थापक महासचिव पुष्पलाल र जनयुद्धको शहीदको नाममा पनि केही कार्यक्रम समेटिएको भए राम्रो हुने थियो भने । सांसद अधिकारीले गोरखाको दुई वटा नाका खोल्ने काम अगाडि बढाउन र चुननुम्री गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने योजनालाई पूरा गर्नुपर्ने बताए ।

नेकपाकै सांसद जुलीकुमारी महतोले सरकारको नीति तथा कार्यक्रममा समावेश भएका सकारात्मक कार्यक्रमले प्रतिपक्षी अत्तालिएको टिप्पणी गरे । नेकपाका सांसद देवप्रसाद गुरुङले नीति तथा कार्यक्रम राम्रो भएरमात्रै नहुने भएकाले कार्यान्वयन गर्नेतर्फ सबै पक्षको सार्थक सहयोग जरुरी रहेको बताए ।

उनले नीति तथा कार्यक्रममा प्रयुक्त भएका केही भाषालाई लिएर गणतन्त्रमाथि नै प्रश्न उठाउने काम नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई आग्रह गरे । गुरुङले नीति तथा कार्यक्रममा धेरै विषय समावेश भए पनि केही विषय छुटेकाले त्यसलाई सहज तवरले सम्बोधन गर्नुपर्ने र राष्ट्रियताको मुद्दालाई थप स्पष्ट पारेर जानुपर्ने बताए ।

नेकपाका सांसदहरु नवराज सिलवाल, महेश बस्नेत, पदम गिरी, प्रेमबहादुर आलेले समाजवादको आधार तयार पार्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको र जनताले खुशी मनाएको अवस्थामा विपक्षीले कुनै पनि विरोध गर्ने आधार नपाएर विरोधका लागि विरोध गरेको जिकिर गरे ।

नेपाली काङ्ग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सरकार गठन भएको १५ महीनाको बीचमा सरकारले केही पनि नयाँ योजना नल्याएको र केवल जनता मात्रै झुक्याएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूरा हुन नसक्ने टिप्पणी गरे । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २३ गते सोमबार बिहान ११ बजे बस्नेछ ।