केन्द्रले पठाएका कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको चेतावनी, आफै भर्ना गर्न पाउनुपर्ने

Advertisement

काठमाडौं । स्थानीय तहले आफूसंग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउँमा कर्मचारी पठाउन आफूसँग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन् । संघीयताको मर्म विपरीत एकपछि अर्को गर्दै संघले हस्तक्षेप गर्दै आउने क्रममा अहिले स्थानीय तहमा कर्मचारी भर्ना पनि संघले नै गर्ने तयारीप्रति स्थानीय तहले तीब्र असुन्तुष्टि जनाएको हो ।

नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिकाले यस विषयमा सार्वजनिक रुपमा अडान राख्दै आएकोमा विहीबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर नै यस विषयमा स्पष्ट पारिसकेको जनाएको छ ।

समायोजन सकिएलगत्तै संघले हाजिर नगराउँदा काममा समस्या आएको र समायोजन प्रक्रिया नै अवरुद्ध भयो भन्दै हाजिर गराउन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको थियो । पत्राचारपछि पनि हाजिर गराउने विषयमा स्थानीयका जनप्रतिनिधि सकारात्मक नभएपछि मन्त्रालयले वार्ताको लागि आहवान गरेको थियो । मन्त्रालयले बोलाएको वार्ता पनि बिना निष्कर्ष टुंगिएको थियो। ‘समायोजन कार्यलाई कसैले पनि सकसपूर्ण बनाउनुहुँदैन ।’–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने ।

हाजिर नगराउँदा काममा समस्या आएको र समायोजन प्रक्रिया नै अवरुद्ध भयो भन्ने कुरा मन्त्रालयबाट राखेको जानकारी दिँदै नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु ‘श्रेष्ठ’ले मन्त्रालयको सो प्रस्तावलाई स्वीकार गर्न नसकिने बताए ।

उनले एउटा दरबन्दीमा दुई जना राख्न नमिल्ने बताउँदै संघबाट खटाइएका कर्मचारी हाजिर गराउँदा स्थानीय तहका कर्मचारीलाई निकाल्नुपर्ने अवस्था रहेको बताए । कानुनी समस्या छ भने कानुनी उपचार निकालेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रमुख ब्याञ्जुले स्थानीय तहका कर्मचारीको समस्या पनि समाधान गरे मात्रै कर्मचारीको अहिलेको समस्या समाधान हुने बताए ।

स्थानीय तहका कर्मचारीले संंघबाट एक तह बढुवा भएर आउँदा समस्या भएकाले समकक्षता कायम गर्नुपर्ने, संघबाट कर्मचारी खटाउँदा स्थानीय तहको आवश्यकताका आधारमा खटन पटन गर्नुपर्ने तथा संघ, प्रदेश र स्थानीय भनेर कर्मचारीलाई विभाजित नगरी सबै कर्मचारी राष्ट्रसेवक कर्मचारी हुन् भन्ने हिसाबले जानुपर्ने जस्ता माग जनप्रतिनिधिहरुले राखेका छन् ।

समायोजन भएको २१ दिनभित्र खटिसक्नुपर्ने सरकारको निर्देशनबमोजिम खटिएका कर्मचारीहरु हाजिरै हुन नपाएपछि मन्त्रालयमा नै फिर्ता भएका थिए । सरकारले स्थानीय तहमा पठाएका कर्मचारी हाजिर गर्न नदिएपछि ती कर्मचारी मन्त्रालय फिर्ता भएका थिए ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुरमा समायोजन गरी पठाइएका ३० जना भन्दा बढी कर्मचारीलाई हाजिर गर्न नदिएको भन्दै ती कर्मचारी मन्त्रालयमा फिर्ता भएका थिए ।

काठमाडौं महानगरपालिकाले समायोजन गरी पठाएका दरबन्दीमा साविक स्थानीय निकायका कर्मचारी कार्यरत नै रहेकाले दरबन्दीको अभावमा कर्मचारीलाई हाजिर गराउन नसकिएको जनाएको छ ।

ललितपुर महानगरपालिका, भक्तपुर र मध्यपुर थिमी नगरपालिकाको यस्तै समस्या देखिएको छ । सरकारले चैत्रको दोस्रो साता तीन तहमा गरी ९८ हजार ५ सय ६८ कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहको ६६ हजार ९०८ दरबन्दीमध्ये ४३ हजार १ सय ४० कर्मचारी समायोजन गरिसकिएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement