काँग्रेसले १३ बर्षमाथि उमेरका किशोरलाई समाजवाद पढाउने

Advertisement

काठमाडौं । कांग्रेसले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने भन्दै किशोरहरूबीच समाजवादको प्रशिक्षण लैजाने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दलले १३ वर्ष उमेर पुगेका विद्यार्थीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट विशेष कार्यक्रम लैजान लागेको हो । ‘फरक–फरक उमेर समूहका लागि प्रजातन्त्रको कुरा पढाउने हाम्रो तयारी छ,’ नीति प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले भने, ‘यसमा विशेष कार्यक्रम बनाएरै लागू गर्छौँ ।’

दाहालले १३ वर्षकै उमेरदेखि विद्यार्थीहरूलाई प्रजातन्त्रको कुरा पढाउन विशेष कार्यक्रम ल्याउने जानकारी दिए । कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भने यसअघि नै १६ वर्ष नपुगेका विद्यार्थीलाई सदस्यता नदिने र संगठित नगर्ने सार्वजनिक प्रतिबद्धता जनाएको थियो । तर, नयाँ पुस्तालाई कांग्रेसको राजनीतिमा संगठित गर्न भन्दै कांग्रेसले कम उमेरकै विद्यार्थीलाई पार्टी राजनीतितर्फ डोहो(याउन प्रशिक्षणसहितका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रतिष्ठानको निर्णयमा ‘नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिन र नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीहरूका लागि र १९ वर्ष देखि २८ वर्षसम्मका उमेर समूहका लागि विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने’ भन्ने उल्लेख छ ।

यस्ता छन् प्रतिष्ठानका कार्यक्रम
प्रतिष्ठानले कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमलाई सफल पार्न र यसका लागि सहयोग पुग्ने गरी प्रतिष्ठानका कार्यक्रम समन्वयात्मक रूपमा सञ्चालन गर्ने जनाएको छ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका नेपाली कांग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने उसको घोषणा छ ।

पार्टीका महाधिवेशन प्रतिनिधिहरूको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने, सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरूका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । त्यस्तै, कांग्रेसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गर्ने, पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थाहरूलाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने÷ गराउने निर्णय पनि उसको छ । विदेशस्थित जनसम्पर्क समितिमा आवद्ध सदस्यहरूलाई प्रशिक्षण दिने, संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘कांग्रेस मेला’ को आयोजना गर्ने घोषणा प्रतिष्ठानले गरेको छ ।

समसामयिक राष्ट्रिय विषयहरूका सम्बन्धमा विचार–गोष्ठी÷छलफल, बहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने, अन्तर्राष्ट्रिय विषयका सम्बन्धमा देशभित्र र देशबाहिरका विज्ञ र प्रतिनिधिहरू सहभागी गराई संवाद, गोष्ठी, छलफल, अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्ने उसको घोषणा छ । पार्टीको विधानमा व्यवस्था भएबमोजिम कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नुपूर्व प्रशिक्षण लिएको हुनैपर्ने भएकाले सबै क्रियाशील सदस्यहरूका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय पनि प्रतिष्ठानको छ । तर, यी कार्यक्रम कहिलेदेखि लागू हुने भन्ने निर्णय प्रतिष्ठानले गरेको छैन ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement