जुत्ताचप्पल मेला बन्द, स्वदेशी उत्पादनको लोकप्रियता बढाईने

Advertisement

काठमाडौं । स्वदेशी जुत्ता उद्योगीहरुले भृकुटी मण्डपमा सधैँभरी सञ्चालन हुने विभिन्न नाममा आयोजना गरिने जुत्ता मेला बन्द गर्ने भएका छन् । आयोजना हुने उक्त मेलाहरुले स्वदेशी जुत्ताचप्पलको लोकप्रियतामा कमी आउने भएकाले उनीहरुले मेला बन्द गर्ने भएका हुन् ।

सधैँभरी हुने मेलाले खुद्रा बिक्रेताहरुमा निरासा पैदा हुन थालेको र स्वदेशी जुत्ताचप्पल खरिद गर्ने उपभोक्ताहरुबाट समेत नकारात्मक टिप्पणी आउन थालेको जनाइएको छ ।

आगामी दिनमा जटिल समस्या आउन सक्ने भन्दै आइतबारदेखि नै जुत्ताचप्पल सेल मेला बन्द गर्न पत्रकार सम्मेलनमा मार्फत आग्रह गरिएको छ । भृकुटी मण्डप र कुनैपनि सार्वजनिक खुला स्थानमा सेलमेला आयोजना नगरी स्वदेशी उत्पादन प्रद्र्धनका लागि राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने व्यवसायी बीच सहमति बनेको पत्रकार सम्मेलनमा बताइयो ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको अध्यक्ष कृष्णकुमार फुयालले अब सस्तोमा जुत्ताचप्पल भृकुटी मण्डपमा आउनु नपर्ने बताए । उनले अब विक्रेताहरुले जिल्ला जिल्लामा नै सस्तो मूल्यमा जुत्ताचप्पल विक्री गर्ने बताए । भृकुटी मण्डपको मेलाले सस्तो जुत्ताचप्पल भृकुटी मण्डपमा मात्रै पाइन्छ भन्ने छापको पनि अब अन्त्य हुने बताए ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले सरकारले तयारी सामानमा १० प्रतिशत भन्सार लिने तर कच्चा पदार्थमा २० प्रतिशत भन्सारले गर्दा जुत्ता उत्पादकहरु मारमा परेको बताए । उनले विदेशबाट आउने जुत्ताहरु न्यून मूल्य देखाएर आएको कारणले पनि नेपाली व्यवसायीहरु मारमा परेको बताए । सम्राज सुजका निर्देशक प्रमोद महतले विदेशमा न्यून गुणस्तर भएर विक्री प्रतिवन्ध लगाएको जुत्ता नेपालमा आएर विक्री भैरहेको बताए । उनले अब ५० प्रतिशत नेपाली जुत्ता पसलमा विक्रीका लागि राख्न पर्ने बताए ।

Advertisement

Advertisement

Advertisement