राजतन्त्र अब फर्किन्नः ओली, ‘गणतन्त्र दिवसमा बच्चालाई चकलेट दिउँ, चकलेट खाने भोलि राष्ट्रपति हुनसक्छ’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवस घरघर र परिवार परिवारमा मनाउनुपर्ने बताउँदै सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै मनाइनुपर्ने बताएका छन् ।

गृह मन्त्रालयमा सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा उनले भने, “यो दिन परिवारभित्रै पनि उत्सवका रुपमा मनाउनुपर्छ । केही नभए घरका बच्चालाई यो दिवसको अवसर पारेर चकलेट वितरण गर्नुहोस्, किनकि आजको त्यो चक्लेट खाने बच्चा भोलिको राष्ट्रपति हुन सक्छ ।”

ओलीले गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै यो दिनलाई जनताले साझा चाडका रुपमा उत्साहसाथ मनाउनुपर्ने तर्क गरे । केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको उनले बताए । ओलीले भने, ‘‘यो जनतामाथिको हमला हो, जनतामाथिको अपमान हो । यो आपराधिक कार्य र देशद्रोही कुरा हो ।”

जनता चुप लाग्दा प्रतिगामी तत्व सल्बलाउन थालेका छन् भन्दै उनले जनता सचेत हुनुपर्ने अवस्था आएको बताए । ओलीले राजतन्त्रमा हुने जन्मसिद्धश्रेष्ठता पाखण्डी सिद्धान्त भएको प्रधानमन्त्रीको टिप्पणी थियो । उनले भने, “गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक रुप हो, प्रतिस्पर्धी प्रणाली हो ।”

‘राष्ट्रपतिको भनाइ सही’
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलनअनुरुप भएको टिप्पणी गरे ।

छिमेकी मुलुक भारतसहित संसारका धेरै देशमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालमा पनि सोहीअनुरुप राष्ट्रपतिले भन्नु जायज रहेको बताए । ओलीले भने, “मेरो देश, मेरो भाषा भनेजस्तै मेरो सरकार भनिएको हो, यसलाई मेरो नीति भनिएको भनेर व्याख्या गर्न भएन ।”

प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताका आधारमा चयन भएको राजतन्त्रमा ‘मेरो सरकार’ भन्नुचाहिँ उपयुक्त हुने तर जनप्रतिनिधिका रुपमा रहेको राष्ट्रपतिले भन्नु अनुपयुक्त हुने भनी गरिएका टिप्पणी नै गलत भएको बताए ।

Advertisement

Advertisement

Advertisement