ब्रिटिश कलेजको लापर्वाहीले विद्यार्थीको मृत्यु प्रकरणः मुद्दा हाल्ने चेतावनीपछि बल्ल पीडितलाई क्षतिपूर्ति

Advertisement

काठमाडौं । चौतर्फी दबाबपछि ब्रिटिस कलेजले दुवई घुमाउन लैजाँदा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई क्षतिपूर्ति दिएको छ । झण्डै तीन महिनादेखि क्षतिपूर्ति दिन आनाकानी गर्दै आएको उक्त कलेजले दबाब बढ्दै गएपछि मृतक विद्यार्थीको परिवारलाई क्षतिपूर्ति दिएको हो ।

मृतक गौरव श्रेष्ठका बाबु महेन्द्र श्रेष्ठले कलेजसँगको विवाद समाधान भइसकेको बताए । उनले यसअघि आफ्नो लापर्वाहीले आफ्नो छोराको अकालमा ज्यान गए पनि कलेजले कुनै चासो नदेखाएको बताउँदै आएका थिए । उनले कलेजविरुद्ध मुद्दा हाल्ने तयारी गरेपछि कलेजका सञ्चालकहरु क्षतिपूर्ति दिन तयार भएका हुन् ।

कलेजका एक सञ्चालक महेन्द्र कँडेलले भने यस विषयमा बोल्न चाहेनन् । सोही कलेजका एशोसियट डिन अरुण प्रधानले भने गौरवको परिवारलाई क्षतिपूर्ति दिइएको बताए । उनले के कति क्षतिपूर्ति दिइएको हो ? सो बारेमा आफूलाई जानकारी नभएको जिकिर गरे । प्रधानका अनुसार कलेज सञ्चालकहरुसँग बसेर पीडित पक्षले कुराकानी गरेकाले क्षतिपूर्ति के कति दिइयो ? सो बारेमा जानकारी नभएको हो ।

शैक्षिक भ्रमणको नाममा दुवई घुमाउन लगिएका कलेजका विद्यार्थीहरुलाई सेड्युलमै नभए पनि पौडी खेलाइएको, विद्यार्थीको ज्यान गएपछि पनि अलपत्र छोडेर कलेजका प्रतिनिधिहरुले बाँकी विद्यार्थीलाई दुवई घुमाइराखेको, विद्यार्थीको शव नेपाल ल्याउन सहयोग नगरेको, आफ्नो बचाउको लागि मृतक विद्यार्थीमाथि गलत आरोप लगाइएको पीडित पक्षले बताउँदै आएको थियो ।

उक्त घट्ना भएपछि फेरि विद्यार्थीहरुलाई बाहिर घुमाउन लैजाने वा नलैजाने विषयमा कलेजले कुनै निर्णय गर्न नसकेको कलेजका डिन प्रधानले बताए । उनले आउँदो सेप्टेम्बरमा कलेजको नयाँ शैक्षित तालिका बन्ने बताउँदै उनले त्यो बेलामा विद्यार्थीको विदेश शैक्षिक भ्रमण गराउने नगराउने बारेमा निर्णय हुने बताए ।

महेन्द्र कँडेल, राजन कँडेल, नरेन्द्र कँडेल लगायतले विना सम्वन्धन कलेज खोलेर हजारौं नेपालीलाई बेलायत पुर्याउने र गठी गर्ने काम गरेको भन्दै उनीहरुको कलेज खारेज गरेपछि नेपालमा आएर ब्रिटिस कलेज खोलेका थिए । ब्रिटिश कलेजमा दुई बर्ष पढेपछि यस कलेजलाई सम्वन्धन दिने बेलायतका दुई विश्वविद्यालयमा विद्यार्थीहरु पढ्न भनेर पठाइँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement