चौधरी फाउण्डेसनले नेपालमा ‘डुइङ गुड इन्डेक्स’ सर्वेक्षण संचालन गर्ने

Advertisement

काठमाडौं । चौधरी फाउण्डेसनले नेपालमा पहिलो पटक डुइङ गुड इन्डेक्स (डीजीआई २०२०) सर्वेक्षण संचालन गर्ने भएको छ । फाउण्डेसनले विज्ञहरूसँग यस विषयमा मंगलबार अन्तरक्रिया गर्यो ।

सामाजिक एवं सार्वजनिक क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सर्वेक्षणका विविध पक्षबारे छलफल भएको जनाइएको छ । डुइङ गुड इन्डेक्सको प्रकाशन हङकङस्थित संस्था “सेन्टर फर एसियन फिलान्थ्रोपी एण्ड सोसाइटी (क्याप्स)”ले गर्दै आएको छ । चौधरी फाउण्डेसन र क्याप्सबीच सन् २०१८ नोभेम्बरमा नेपालमा डुइङ गुड इन्डेक्स सर्वेक्षण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यस सर्वेक्षणको प्रमुख उद्देश्य एसियाली राष्ट्रहरुमा लोकोपकारी क्षेत्रमा लगानीको मात्रा एवं गुणस्तरमा बृद्धि गर्नु रहेको जनाइएको छ । यसअन्तर्गत यस क्षेत्रको नियमनकारी व्यवस्था, कर प्रणाली, खरीद प्रक्रिया एवं सामाजिक वातावरण आदि जस्ता क्षेत्रको जानकारी हासिल गर्दै सामाजिक क्षेत्रमा लगानी प्रदान वा प्राप्त गर्ने सम्बन्धी प्रावधानको बारेमा अध्ययन गरिनेछ ।

यस सर्वेक्षणले सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका लागि सामाजिक क्षेत्रमा लगानी जुटाउन कठिनाई, योग्य जनशक्तिको अभाव, कर्मचारीतन्त्रमा व्याप्त रेड टेपिज्म आदि जस्ता विविध चुनौतीहरुको समाधानका उपायको पहिचान गर्नमा मद्दत पुर्याउने छ । त्यसैगरी सर्वेक्षणले सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरुलाई कानुनीरुपमा संस्था दर्ता गर्न, लगानी बृद्धि गर्न, कर सहुलियत एवं सार्वजनिक करार प्राप्त गर्ने आदि जस्ता कार्यमा पनि टेवा पुग्ने विश्वास फाउण्डेसनले लिएको छ ।

कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले डुइङ गुड इन्डेक्सले सामाजिक क्षेत्रमा विश्वासको वातावरण, परोपकारी भावनाको विकास एवं यस क्षेत्रको व्यवसायीकतालाई वढावा दिने जस्ता सकारात्मक नतिजा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्लेले आजको दुनियाँमा आर्थिक बृद्धिदरसँगसँगै ह्यापिनेस पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै डुइङ गुड इन्डेक्सले नेपाली समाजको अध्ययनमा नयाँ आयाम थप्ने बताए । सर्वेक्षणको नतिजा सन् २०२० मा प्रकाशित गर्ने लक्ष्य छ ।

Advertisement

Advertisement

Advertisement