ओलीका सल्लाहकारको जिकिर– प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण नेपालको हितमा छ

Advertisement

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्री केपी ओलीले गर्न लागेको भियतनाम र कम्बोडिया भ्रमण नेपालको हितमा रहेको जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार भट्टराईले यही वैशाख २६ देखि जेठ १ गतेसम्म प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल हुने तर्क गरे । उनले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने भन्दै दक्षिण पूर्वी एशियाको उदाउँदो राष्ट्र भियतनामको भ्रमणबाट हामीले लाभ लिन सक्ने दावी गरे ।

नेपाल र भियतनामबीच द्विपक्षीय व्यापारका बारेमा पनि कुराकानी हुने जानकारी दिँदै भट्टराईले दुई मुलुकबीच सांस्कृतिक आदान–प्रदान हुने बताए । उनले बहुसङ्ख्यक भियतनामी जनता बुद्ध धर्म मान्ने भएकाले गौतमबुद्धको जन्मस्थल लुुम्बिनीमा भियतनामी बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन प्रधानमन्त्रीको भ्रमण फलदायी हुने बताए ।

भियतनाममा यही वैशाख २९ गते वैशाख दिवस मनाउने उक्त दिन अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिएकाले त्यसमा नेपालका प्रधानमन्त्री ओलीले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति तथा मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्ति आउने कार्यक्रम रहेको भन्दै भट्टराईले कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि बताए ।

Advertisement

Advertisement

Advertisement