वाइडबडी उडानको व्यवसायिक योजना कार्यान्वयन नगर्दा निगम टाट पल्टिँदै

Advertisement

काठमाडौं । वार्षिक ८ अर्ब रुपियाँ आम्दानी गर्ने नेपाल वायु सेवा निगमको व्यावसायिक योजना असफल भएको छ। निगमको नेतृत्व परिवर्तन भएसँगै पुराना योजनालाई निरन्तरता नदिँदा र नयाँ योजना अगाडि बढाउन नसक्दा निगम धरासयी बन्दै गएको हो।

वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न नसकेर निगमको दायित्व २ अर्ब रुपियाँ हाराहारीमा पुगेको छ। देखिने गरी निगमको नेतृत्वले व्यावसायिक योजना अगाडि बढाउन नसकेको निगमको कर्मचारी संगठनका अध्यक्ष तारणी दाहालको भनाइ छ।

उनले वर्तमान नेतृत्वले पुराना व्यावसायिक योजना अगाडि बढाउन नसकेको टिप्पणी गरे । महालेखाले आफ्नो ५६औं वार्षिक प्रतिवेदनमा वाइडबडी विमानमा सञ्चालनको ६ महिनामै १ अर्ब ६६ करोड ३१ लाख रुपियाँ घाटा हुने अनुमान गरेको थियो।

निगमको कार्यकारी अध्यक्षमा सरकारले गत भदौ ३१ गते मदन खरेललाई नियुक्त गरेको थियो। खरेलले करिब ८ महिना निगमको नेतृत्व गरिसक्दा निगमले उपलब्धि हासिल गर्न सकेको छैन।

निगमको आधिकारी ट्रेड युनियनका अध्यक्ष सुभास डाँगीले निगमको छवी सुधार गर्न नेतृत्वलाई सजग गराएको बताए । वाइडबडी विमान लामो रुटमा उडाउँदा सञ्चालन खर्च कम र आम्दानी बढी हुने जान्दाजान्दै निगमले सो विमानलाई छोटो रुटमा उडाउँदै आएको उनीहरूको भनाइ छ।

जीएसए नियुक्तिमा ढिलाइ
जापानको ओसाकामा असार १९ गतेबाट उडान गर्दै छ। करिब ८० हजार नेपाली जापानमा बसोबास गर्दै आएका छन्। ८० प्रतिशत नेपाली जापानको राजधानी टोकियो वरिपरि बस्ने भए पनि निगमले टाढाको गन्तव्य ओसाकामा उडान गर्नु व्यावसायिक हिसाबले उपयुक्त नरहेको त्यस क्षेत्रका जानकार एवं सांसद डा. सूर्य पाठकले बताए । जापानले हानिदा विमानस्थलबाहेक टोकियोको नारिता विमानस्थलमा उडान अनुमति दिने बताइरहँदा निगम नेतृत्वले व्यावसायिक सम्भावना नरहेको ठाउँमा उडान गर्नु अनुपयुक्त भएको उनको तर्क छ।

टोकियोमा १ करोड ३९ लाख र ओसाकामा २७ लाखको हाराहारीमा जनसंख्या रहेको छ। जापानमा करिब ८० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको छ।
टोकियोबाट ओसाका ३ सय ९७ किलोमिटर टाढा रहेको छ। ओसाकाबाट उडान शुरू गर्नका लागि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचनको आसका ट्राभल एन्ड टुरलाई प्रतिनिधिका रूपमा जिम्मा दिइएको निगमको भनाइ छ । जापानको राजधानी टोकियोको नारिता एयरपोर्ट पनि जान सक्ने गरी दुई देशबीच गत असारमा पर्यटन सचिवले हस्ताक्षर गरेका थिए । नारिता एयरपोर्टमा उडान गर्ने भन्दै गत असार २२ गते जीएसए नियुक्त गरेको करिब ३ महिनामा उडान अनुमति दिने उल्लेख गर्दै पत्र पठाएको निगम स्रोतको दाबी छ।

निगमको सञ्चालक समितिको २०७४ फागुन ७ गतेको बैठकबाट जीएसए नियुक्तसम्बन्धी विनियमावली स्वीकृत गरेको थियो। विनियमावलीअनुसार जापानमा जीएसए नियुक्त गर्न गत वर्षको साउन २० गते सञ्चालक समितिको बैठकले महाप्रबन्धकलाई दिएको अधिकारअनुसार निगमले प्रतिस्पर्धामा सूचीकृत भएका ५ कम्पनीमा पहिलो नम्बरमा रहेको वेस्टन एसोसिएटलाई नियुक्त गर्ने निर्णय गरी अन्तिम हस्ताक्षर गर्न बाँँकी थियो।

तर, निगमको कार्यकारी अधिकार खरेल नियुक्त भएसँगै सो प्रक्रिया रोकिएको थियो। स्रोतका अनुसार जीएसए प्रक्रिया अगाडि बढेको भए निगमले ४ महिना अगाडि नै जापान र अन्य क्षेत्रमा उडान गर्न सम्भव हुने थियो। अहिलेको जस्तो आर्थिक संकट आउने थिएन।

नेपालबाट ओसाका विमानस्थल टोकियोको विमानस्थलभन्दा नजिक रहेकाले निगमको व्यावसायिक योजना सफल हुने हिराचनको दाबी छ। टोकियोबाट १ घन्टामै बुलेट ट्रेनमा ओसाका पुग्न सकिने र नेपाली छरिएर बसेकाले निगमको व्यावसायिक उडानमा कठिनाइ नरहने उनको तर्क छ।

तर, निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने यसबारे निगमले मापदण्ड हेरेर निर्णय गर्ने बताउँदै भने– ‘मोडालिटी परिवर्तन गरेर जीएसए नियुक्त गरिँदैन। नारिता विमानस्थलका लागि प्रक्रियामा रहेको छ।’

यसैबीच गत साउन १८ गते नै प्यासिफिक एयर एजेन्सी कम्पनीलाई कोरियामा निगमको जीएसएमा नियुक्त गरिएको थियो। तर, प्राविधिक कठिनाइ चिर्न नसक्दा निगमले अहिलेसम्म कोरियामा पनि उडान भर्न सकेको छैन। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले कोरिया निगमको उडान सहजीकरण गर्न सकरात्मक रहेको बताए।

निगमलाई आर्थिक संकट
निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापत ३ महिनामा १ अर्ब १३ करोड रुपियाँ तिर्नुपर्छ। आर्थिक संकटमा फसेको निगमले अर्थ मन्त्रालयसँग २० अर्ब रुपियाँ माग गरेको थियो। तर, सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक भित्राउने लक्ष्य लिए पनि निगमको विमानले व्यावसायिक उडान भर्न नसक्दा उक्त लक्ष्यमा तुषारापात हुने देखिएको छ। स्मरणीय छ, निगमका ४ वटा विमानले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेका छन्।

नेतृत्व परिवर्तनसँगै प्रक्रियामा ढिलाइ
निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग करिब २४ अर्ब रुपियाँ ऋण लिएर जापान, साउदी अरेबिया र कोरिया गरी तीन नयाँ गन्तव्यमा सीधा उडान गर्न वाइडबडी ए ३३०–२०० दुई थान विमान खरिद गरेको थियो।

निगमले व्यावसायिक योजना अघि सार्दै साउदी अरेबियाको रियाद, जापानको ओसाका र दक्षिण कोरियाको सोलमा नयाँ गन्तव्य थप गर्ने योजना ल्याएको थियो। साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेकोमा हाल जीएसएले नै सम्झौता रद्द गरिसकेको छ। निगमले दुईपटक टेन्डर आह्वान गरेर जीएसए नियुक्तिका लागि विज्ञापन गरेको भए पनि मापदण्ड नपुगेको कम्पनी नआएकाले आपसी समझदारीमा जीएसए नियुक्ति गर्ने प्रक्रियामा रहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए ।
पुरानो नेतृत्वले अगाडि सारेको व्यावसायिक योजना अगाडि नबढाएर र नयाँ योजना नल्याएर निगमलाई धरासयी बनाउँदै ८ महिना खेर फालेको कर्मचारीहरूको आरोप छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement