बागलुङ यात्रा गर्दा सार्वजनिक बसभित्रै प्राथमिक उपचार सेवा पाइने

Advertisement

बलेवा । बागलुङमा सार्वजनिक बसभित्रै प्राथमिक उपचार सेवा शुरु भएको छ । ‘वेलनेश टिम’ काठमाडौंको सहयोगमा धौलागिरि अञ्चल यातायात बस व्यवसायी समिति बागलुङले जिल्लामै पहिलो पटक बसभित्रै प्राथमिक उपचार सेवा शुरु गरेको हो ।

समितिमा आबद्ध दुई सय वटा बसमा ‘फस्ट एड बक्स’ प्राथमिक उपचार बाकस राखिएको छ । ‘फस्ट एड बक्स वेलनेश टिम’की अध्यक्ष नितु खड्का र बागलुङ नगरपालिका–३ की वडाअध्यक्ष लक्ष्मी बाँस्कोटाले समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गर्दै बसभित्र हुनसक्ने सम्भावित सामान्य दुर्घटनाका बेलामा यसलाई प्रयोग गर्न सक्ने बताए।

‘हरेक घर फस्ट एड बक्स’ भन्ने नाराका साथ नेपालमै पहिलो पटक बागलुङबाट बाकु वितरण शुरु गरिएको वेलनेस्टकी अध्यक्ष नितु खड्काले जानकारी दिए । बसमा यात्रा गर्दा बीच बाटोमा यात्रुहरु बिरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताए ।

प्रतिबक्स रु एक हजारमा वितरण गर्ने जनाएको ‘वेलनेशले’ आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम रु ५० सम्ममा वितरण गर्ने जनाएको छ । प्राथमिक उपचार बक्समा चोटपटक र घाउलाग्दा रगत रोक्ने औषधि, टाउको दुःखेको, पेट दुःखेको, बान्ता नआउने, जीवनजल, उच्च रक्तचापलगायत १६ प्रकारका औषधि र औजारहरु रहेको वेलनेश समूहका सचिव ओमविक्रम खड्काले बताए । बाकस वितरणसँगै सरोकारवालाले यसको निरन्तरतामा जोड दिएका छन् । अहिले चलेको अभियानले निरन्तरता पाउन सके मात्र राम्रो हुने बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् ।

‘धेरै जस्तो कार्यक्रम केही समय चल्ने र पछि आफैँ बन्द हुने समस्या देखिएको छ, वडाध्यक्ष बाँस्कोटाले भने, “यसलाई सबैले सहयोग गरेर भए पनि सधैँभरि सञ्चालन गर्न जरुरी छ ।” यात्रुको सुरक्षाका लागि बस व्यवसायी समितिले प्राथमिक उपचारको व्यवस्थालाई निरन्तरता दिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement