पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘फेल’

काठमाडौँ । आफैंले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित थिए, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ ।  यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उनलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गरे ।

उद्घाटनपछि  उनले भने, ‘मैले सोचेको थिइनँ, म यो विद्यालयको पूर्वविद्यार्थी मैले नै यसको नयाँ भवन उद्घाटन गर्नुपर्ला भनेर ।’ सोही क्रममा श्रेष्ठले विद्यालयमा बिताएका बाल्यकालीन दिनहरुको सम्झना गरे ।

united

विसं २०१५ तिर श्रेष्ठ कक्षा १ मा भर्ना भएका थिए । पढाइ शुरु गरेको केही महिनामै नतिजा आयो । अभिभावक र साथीभाइसँग रमाउँदे नतिजा सुन्न उनी विद्यालय पुगे । शिक्षकबाट कल्याणकुमार श्रेष्ठ ‘फेल’ भन्ने घोषणा भयो ।

‘नाम सुन्ने बित्तिकै म आफ्नो ठाउँबाट उठे र हाँसे’, श्रेष्ठले भने, ‘घरमा पुगेर खुशी हुँदै फेल भएको खबर सुनाएँ ।’ घर पुगेपछि उनलाई बल्ल थाहा भयो ‘फेल’ भनेको कमजोर भन्ने रहेछ । ‘फेल, पास भनेको पनि थाहा नपाउने अवस्थामा म थिएँ’, उनले भने, ‘तर म अहिले जहाँ छु यसमा विद्यामन्दिरको जग र प्रेरणा छ ।’

श्रेष्ठले कक्षा १ को ‘फेल’ नै आफ्नो जीवनको पहिलो र अन्तिम ‘फेल’ भएको उल्लेख गरे । त्यसयता उनले कहिल्यै पछि फर्कनु परेन, न त ‘फेल’ को नमीठो अनुभव भोग्नुपर्यो । ‘मैल हार्वड, म्याम्ब्रिजमा पढ्न पाइनँ तर विद्यामन्दिरमा पढ्न पाएँ’, श्रेष्ठले भने, ‘विद्यामन्दिर पढ्न नपाएको भए आजको कल्याण हुने थिएन ।’

कुनै विख्यात विश्वविद्यालय पढ्न नपाएकामा गुनासो नरहेको भन्दै विद्यामन्दिरबाट अक्षराम्भ गरेका दिनहरु सम्झदा गौरवको अनुभूति हुने धारणा राखे । उनले आफ्नो ज्ञान, चिन्तन र विचारको पृष्ठभागमा विद्यामन्दिर रहेको उल्लेख गरे ।

मन्तव्यकै क्रममा पूर्वन्यायाधीश श्रेष्ठले देशको शिक्षा प्रणाली सुधार्नुपर्नेमा जोड दिए । वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उनको धारणा छ । ‘मुलुकलाई गतिलो शिक्षा प्रणाली चाहिन्छ’, उनले भने, ‘अप्रगतिशील र हिजोकै थोत्रो पाठ्यक्रमले आजको समस्या समाधान हुँदैन ।’

विद्यार्थीलाई जिज्ञासु, अन्वेषण गर्न सक्ने, आलोचनात्मक दृष्टिकोण भएको र समस्या समाधान गर्न सक्ने हैसियतमा पु¥याउनुपर्ने उनको भनाइ छ । नवीन सोच र चिन्तन बिना पढाइको प्रमाणपत्रले मात्र कुनै योग्यता नराख्ने भन्दै उहाँले शिक्षालाई समाज, उत्पादन र जीवन पद्धतिसँग जोड्नुपर्ने विचार व्यक्त गरे ।

श्रेष्ठले बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माविबाट वि।सं २०२४ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । विद्यामन्दिरबाट विद्यालय शिक्षा पूरा गरी उच्च शिक्षा अध्ययनका लागि श्रेष्ठ काठमाडौँ पुगे । विसं २०२९ सालदेखि न्यायसेवामा प्रवेश गरेका श्रेष्ठ विसं २०७२ मा न्यायालयको सर्वोच्च पदमा पुगे ।

श्रेष्ठ न्याय क्षेत्रको एक निर्भिक र जुझारु न्यायाधीशका रुपमा चिनिन्थे । २००८ सालमा बानपा–३ स्थित नयाँ बजारमा जन्मनुभएका श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश हुँदा गरेका फैसलाहरु विदेशमा समेत चर्चित छन् । घरेलु हिंसा, महिला हिंसा जस्ता मुद्दामा ‘फास्ट ट्र्याक’ अवधारणा उनले नै ल्याएका थिए । न्याय प्रणालीलाई प्रविधियुक्त बनाउने, सञ्जालीकरण गर्नेदेखि न्यायक्षेत्र सुधारमा श्रेष्ठको योगदान छ ।

श्रेष्ठले न्यायक्षेत्र सुधारसम्बन्धी विभिन्न आयोग र समितिको संयोजकसमेत भएर काम गरिसकेका छन् । स्वच्छ छवि र कुशल नेतृत्वदायी भूमिकाका कारण श्रेष्ठ न्यायक्षेत्रमा सँधैँ चर्चामा आउने गर्थे । श्रेष्ठ जिल्ला न्यायाधीश, अञ्चल न्यायाधीश, पुनरावेदन हुँदै उनी विसं २०६२ मा सर्वोच्च अदालतमा पुगेका थिए । प्रधानन्यायाधीशबाट २०७२ चैतमा अवकाश लिएका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशात्र र नेपालीमा स्नातकोत्तर गरेका छन् ।

वि।सं २०७२ को भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएपछि विसं २०७३ असारदेखि विद्यालयको पुनःनिर्माण शुरु गरिएको थियो । २६ कोठे नयाँ भवन विद्यालयका पूर्वविद्यार्थीलगायत दाताहरुको सहयोगमा निर्माण भएको हो । रु चार करोड ३७ लाखको लागतमा भवन बनेको छ । विसं १९९७ सालमा खुलेको विद्यालयमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायको पढाइ हुन्छ ।