काठमाडौँ । आगामी वर्षको बजेटले केलाई प्राथमिकता दिनुपर्ला ? दिगोपन, सुशासन, पूर्वाधार कुन क्षेत्रमा बढी लगानी गर्नुपर्ला ? कृषि, सेवा, उद्योग पूर्वाधार विकासतर्फ कुन क्षेत्रमा बढी लगानी गर्नुपर्ला ? यातायात, सञ्चार र ऊर्जा क्षेत्रमा कस्ता रणनीति बनाउनुपर्ला ? आर्थिक गतिविधिसम्बन्धीका यस्तै–यस्तै ६१ बुँदामा सांसद, अर्थविज्ञ, उद्योगी, व्यवसायी र पत्रकारले फरक अनुभूति हुने गरी बजेटका विषयमा लिखित सुझाव पेश गरे । प्रतिनिधिसभा, अर्थ समितिद्वारा आज राजधानीमा आयोजित प्रि–बजेट छलफलको माहोल हेर्दा लाग्थ्यो सबै जना लोकसेवा आयोगको वस्तुगत प्रश्नको उद्धार दिँदै हुनुहुन्थ्यो ।
अघिपछि बजेटका विषयमा मौखिक रुपमा सुझाव दिने चलन भए पनि अर्थ समितिले आज भने वस्तुगत रुपमा विकल्पसहित लिखितै सुझाव सङ्कलन गरेको हो । बजेटको पूर्वसन्ध्यामा छलफल शुरु गरिएकाले अर्थतन्त्रको विकासका लागि सरकारलाई वास्तविक सुझाव पेश गर्न बुँदागत रुपमा प्रश्नपत्र तयार गरेर सुझाव सङ्कलन गरिएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताउनुभयो । पन्ध्रौँ योजनाको सङ्घारमा रहेको मुलुकमा सुशासन प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने वर्तमान सरकारको प्रतिबद्धतासँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बीच आउन लागेको बजेटका विषयमा सहभागीले स्वदेशी उत्पादनमा जोड दिँदै स्रोत साधनको भरपुर उपयोग गरी सम्भाव्यताका आधारमा बजेट अउनुपर्ने सुझाव दिएका छन् ।