व्यापार विवादः अमेरिकाले चिनियाँ सामानको आयातशुल्क बढायो

Advertisement

वासिङ्टन । अमेरीकाले दुई खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमाथिको आयातशुल्कमा दोब्बर वृद्धि गरेर दुई देशबीच जारी व्यापार विवादलाई थप जटिल बनाइदिएको छ।

अमेरिकाले १० प्रतिशत रहेको आयातशुल्क २५ प्रतिशत पुर्‍याएपछि चीनले पनि त्यस्तै कदम चाल्ने बताएको छ। चीनले अमेरिकी कदममा खेद व्यक्त गर्दै आवश्यक प्रतिरोधी कदम चाल्ने बताएको छ। यो कदम वाशिङ्टनमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू बीच व्यापार सम्झौता गर्ने प्रयास भइरहँदा चालिएको हो।

केही समय अगाडि मात्रै अमेरिका र चीन सम्झौताको नजिक देखिएका थिए । चीनको व्यापार मन्त्रालयले आफ्नो वेबसाइटमा अमेरिकी कदमको पुष्टि गरेको छ।

'हामी आशा गर्छौँ चिनियाँ र अमेरिकी पक्षले सहयोग र सल्लाह गरेर यो समस्या समाधान गर्न मिलेर काम गर्नेछन्', मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

अमेरिका र चीनको व्यापार विवादले विश्व अर्थतन्त्रलाई असर गर्ने देखिएको छ र व्यवसाय एवम् ग्राहकहरूका बीच अनिश्चितताको वातावरण सिर्जना गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ३.२५ खर्ब डलरको सामानमाथि आयातशुल्क बढाउने चेतावनी दिएकोले यो अवस्था अझै नराम्रो हुनसक्छ। यो खबरका बीच पनि अमेरिका र चीनबीचको उच्चस्तरीय व्यापार वार्ता यथावत छ।

बिहीवार ट्रम्पले आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङबाट सुन्दर पत्रु प्राप्त गरेको र फोनमा कुराकानी हुनसक्ने बताएका थिए।

ट्रम्पले आयातशुल्क वृद्धिको असरका बारे कम आंकलन गरेको भएपनि विज्ञहरूले यसले केही अमेरिकी कम्पनी र ग्राहकहरूलाई ठूलो असर पर्ने बताएका छन्। 'यो अर्थतन्त्रमाथि ठूलो धक्का हुनेछ', एशियन ट्रेड सेन्टरका कार्यकारी अध्यक्ष डेबोरा इल्म्सले भनिन्–'यो २५ प्रतिशत वृद्धि भोग्ने अमेरिकी कम्पनीहरू हुन् र अझ चीनको कदम हेर्न बाँकी नै छ।'

अमेरिका र चीनको विवाद किन ?
अमेरिकी राष्ट्रपति ट्रम्पले, अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्तिको असन्तुलित स्थानान्तरण रोक्न र रोजगारी जोगाउनु आफूले पछिल्ला कदमहरू चालेको बताउँदै आएका छन्।

ट्रम्पले बिहीवार नै चीनसँगको वार्ताअघि दुई देशबीचको तनावलाई थप चर्काउँदै व्यापार वार्तामा चीनले सम्झौता तोडेको आरोप लगाएका थिए।

दुवै देशले अर्बौँको सामानमा आयातशुल्क लगाइसकेका छन्। गत वर्ष मात्रै अमेरिकाले साढे दुई खर्ब डलरको चिनियाँ सामान र चीनले एक खर्ब डलरको अमेरिकी सामानमाथि शुल्क लगाएका थिए।

अमेरिकाले सन् २०१८ मा कूल ५.४ खर्ब डलरको चिनियाँ सामान आयात गरेको थियो भने १।२ खर्ब डलरको सामान चीन निर्यात गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले व्यापार विवादलाई विश्व अर्थतन्त्रमाथि खतरा भनेको छ।

अमेरिकी र चिनियाँ व्यापार युद्धको सबैभन्दा ठूलो असर पूर्वी एशियाली आपूर्ति प्रणालीमाथि पर्नेछ। युएन कन्फरेन्स अन ट्रेड एन्ड डेभलप्मेन्टको अध्ययन प्रतिवेदन अनुसार पूर्वी एशियाली उत्पादकहरूमाथि ठूलो असर पर्नेछ। जसअनुसार सो क्षेत्रमा निर्यात १६० अर्ब डलरले घट्नेछ। तर असर अन्यत्र पनि देखिनेछ।

अमेरिकी र चिनियाँ व्यापार युद्धले पूर्वी एशियाको आपूर्ति सञ्जाल अन्यत्र सर्नेछ, तर अमेरिकी कम्पनीहरूले त्यो स्थान लिने अवस्था देखिँदैन।

राष्ट्रसङ्घीय प्रतिवेदन अनुसार अमेरिकी शुल्क बढ्ने २५० अर्ब डलर बराबरका चिनियाँ सामानमध्ये अमेरिकी कम्पनीहरूले ६ प्रतिशत हिस्सा मात्रै पूर्ति गर्न सक्नेछन्।

अर्कोतिर चिनियाँ शुल्क लाग्ने ८५ अर्ब डलर बराबरको अमेरिकी सामानमध्ये चिनियाँ कम्पनीहरूले करिब ५ प्रतिशत हिस्सा मात्रै पूर्ति गर्न सक्नेछन्।

अध्ययन प्रतिवेदन अनुसार युरोपेली निर्यात ७० अर्ब डलरले बढ्नेछ भने जापान, क्यानाडा र मेक्सिकोको निर्यातमा २० अर्ब डलरभन्दा बढीले वृद्धि हुनेछ। फाइदा पुग्ने अन्य मुलुकहरूमा अष्ट्रेलिया, ब्राजिल, भारत, फिलिपिन्स र भियतनाम हुनेछन्।

Advertisement

Advertisement

Advertisement