साझाले थप्यो २० वटा नयाँ ‘सिटी बस’, कुन रुटमा सञ्चालन हुने ? टुङ्गो छैन्

Advertisement

काठमाडौं । साझा यातायातले किनेका थप २० वटा बस काठमाडौं आइपुगेका छन् । अहिले परिक्षणमा राखिएको यि बसहरु साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा ल्याइएका हुन् ।

यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपियाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

नयाँ बस केही हप्ताभित्रै काठमाडौंमा चल्न सुरु गर्ने साझा यातायातले जनाएको छ । साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।

संभवत जेठ महिनामै संचालनमा आउने साझा यातायातले जनाएको छ । युरो ४ मापदण्डका यी गाडी ४० भन्दा धेरै सिट क्षमताका छन्। अपांग मैत्री यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन्।

लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । यो वर्ष काठमाडौं महानगरपालिकाले साझामार्फत १० करोड खर्चे विद्युतीय बस ल्याउने योजना बनाएको छ ।

यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपियाँ बराबरको शेयर किन्ने तय भइसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।

यी गाडीहरु कुन रुटमा चलाउने भने निश्चित भईसकेको छैन । यी २० बससँगै साझाको बस संख्या ७१ पुगेको छ। हाल साझाका ६ वटा बसले राजधानी बाहिर सेवा दिइरहेका छन्। साझाले उपत्यका बाहिर काठमाडौं– बागलुङ रूटमा बस सञ्चालन गरिरहेको छ। बाँकी बस उपत्यकाका तीनै जिल्लामा संचालन भइरहेका छन्।

साझाले कार्डमार्फत भुक्तानी हुने व्यवस्था समेत गरेको छ। कार्ड सिस्टमको व्यवस्थाले पारदर्शिता समेत बढ्ने साझाले जनाएको छ।

Advertisement

Advertisement

Advertisement