रेलमार्गमा हतार गर्नुभन्दा सडक सञ्जाल राम्रो बनाउः अर्थविद् शर्मा

Advertisement

काठमाडौं । अर्थविद् डा. शंकर शर्माले रेल ल्याउन हतार गर्नुभन्दा सडक यातायातलाई सुधार्न सरकारलाई सल्लाह दिएका छन् । विवेकशील साझा पार्टीले शनिबार गरेको केरुङ–काठमाडौं रेल बहस कार्यक्रममा शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक लगानी कसरी जुटाउने ? र निर्माणको मोडालिटी कस्तो हुने ? भन्ने कुरा स्पष्ट नभएकोले पहिला सडक यातायात निर्माणमा ध्यान दिनुपर्ने बताए ।

उनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्बन्धमा चीन आफै पनि स्पष्ट नरहेको आफूले पाएको भन्दै बरु गुणस्तरीय सडक सञ्जाल निर्माणमा ध्यान दिए त्यसले जित्ने बताए । सरकारले पहिलो प्राथमिकतामा सडक सञ्जाल विस्तारलाई राख्नुपर्ने शर्माले बताए ।

उनले भारतसँगको निर्भरता कम गर्न चीनसँग आर्थिक सम्वन्ध विस्तार जरुरी रहेको र केरुङ–काठमाडौं रेलमार्ग सहयोगी हुनसक्ने भए पनि यसको निर्माण र सञ्चालन नेपालका लागि कठिन रहेको बताए । राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका शर्माले रेल मार्ग निर्माणपूर्व थुप्रै विषयमा सरकार स्पष्ट हुनु जरुरी रहेको बताए।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले केरुङ–काठमाडौ रेल सञ्चालनबाट प्रत्यक्ष लाभान्वित नेपाल वा छिमेकी मुलुक भन्नेमा स्पष्ट हुनुपर्ने भन्दै रेलमार्गले ल्याउने भूराजनीतिक तरंगका विषयमा बहस जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement