द्धिपक्षीय सम्वन्ध र व्यापार बढाउन भियतनामसँग समझदारी, वैशाख दिवसमा सहभागी हुन प्रस्ताव

Advertisement

भियतनाम । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार बढाउन सहमत भएका छन् । प्रधानमन्त्री केपी ओलीको भियतनाम भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा कूटनीतिक प्रवेशआज्ञा छुट तथा सरकारी राहदानीमा रहेका अवरोध हटाउने र दुई देशबीचमा सम्बन्धका विषयमा विचारविमर्श गर्न द्वपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषय छन् । सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गरे ।

त्यसैगरी व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार अधिकारी र भियतनामका उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरे ।

साथै, प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा शनिबार नै भेटवार्ता भएको छ । ओली प्रिसिडेन्सियल हाउस पुग्दा हनोइले स्वागत गरेका थिए । त्यस अवसरमा भियतनामी सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।

दुवै नेताबीच समसामयिक राजनीतिक र विकासका विषयमा कुरा भएको जनाइएको थियो । द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि उनीबीच छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिए ।

आगामी वर्ष २०२० मा हुने नेपाल भ्रमण वर्षमा नेपालले वैशाख दिवस आयोजना गर्ने जानकारी दिँदै ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौँ’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह गरे । उनले भियतनामी प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निम्तो पनि दिए ।

दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे पनि छलफल गरेका थिए ।

भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राखेको भियतनामी अधिकारीले जनाएका छन् । उनले आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताए ।

प्रधानमन्त्री ओलीका साथ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा भियतनामी सरकारका तर्फबाट मन्त्री, उपमन्त्री र उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए । प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य र भियतनामी प्रधानमन्त्री फुककी पत्नी ट्रान न्गुयट थुबीच पनि छुट्टै भेटघाट भएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement