बैदेशिक रोजगारमा मलेशिया गएका उदयपुरका प्रदीपकुमार चौधरी डेढ बर्षदेखि वेपत्ता

Advertisement

उदयपुर । बैदेशिक रोजगारको लागि मेलिया गएका उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरपुरका प्रदीपकुमार चौधरी डेढ बर्षदेखि घर परिवारसँग सम्पर्क विहिन रहेका छन् । मलेसिया गएको केही समयसम्म नियमति फोन सम्पर्कमा रहेका उनी २०७४ साल मंसिर ४ गतेदेखि घर परिवारसँग सम्पर्क विहिन रहेको परिवारले जानकारी दिएको छ ।

बसुन्धरास्थित पिजन ओभरसिज प्रालिबाट मलेसिया गएका चौधरी मलेसियाको डब्ल्यू. सी. टी. कन्स्ट्रक्सन एसडीएन विएचडी कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा उनी आफ्नो तीन बर्षे कार्यकाल पूरा गरेर पुनः सोही कम्पनीमा काम गर्न मेलेसिया गएका थिए ।



पछिल्लो पटक गएको केही समयसम्म सम्पर्कमै रहेका उनी एक्कासी सम्पर्क विहिन भएको बुवा सिताराम चौधरीले जानकारी दिए । घरमा सम्पर्क गर्न छाडेपछि उनको खोजि कार्य सुरू गरिएको तर अहिलेसम्म उनी नभेटिएको बुबा चौधरीले जानकारी दिए । उनले यस क्रममा बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा समेत निवदेन दिएकोे बताए । बोर्डले पहल गर्दा मेलेशियाका जेल र सेल्टरमा प्रदीपकुमार चौधरी नामको कुनै पनि व्यक्ति नरहेको जानकारी दिएको बुबा सितारामले बताए ।

त्यसैगरी मलेशियामै काम गर्ने उदयपुरका एकजना शुभचिन्तकको सहयोग मलेशियामा कार्यरत कम्पनीमा बुझ्न पठाउँदा उनी त्यहाँ नरहेको कम्पनीको गार्डले जानकारी दिएको बताए । प्रदीप ८÷१० महिनादेखि नै कम्पनी छाडेर अन्यत्र गएका कम्पनीका गार्डलाई उदृत गर्दै बुबा सितारामले जानकारी थिए । मलेसिया पुगेको केही समयसम्म आफूसँग फोन सम्पर्कमै रहेको आमाउनकी श्रीमती कुन्तीदेवी चौधरीले जानकारी दिइन । घर परिवारसँग सम्पर्क नै विच्छेद हुनुपर्ने कुनै कारण नभएको पनि उनले बताइन् ।

‘घरपरिवार र कसैसँग झगडा र नराम्रो पनि भएको थिएन ।’ उनले भनिन– ‘परिवार, आफन्त, शुभचिन्तक र साथीभाई सबैसँग एक्कासी सम्पर्क विच्छेद भएपछि हामी सबै चिन्तित भएका छौं ।’ फेसबुक म्यासेन्जर र मलेसियामा नम्वरमा इमो भाइवरमा नियमित सम्पर्क भइरहेकोमा सोही मिति देखि मोवाइल, फेसबुक सबै निष्क्रिय भएको पनि उनले जानकारी दिइन ।

‘न लाश भेटिन्छ न सास, कहाँ हरायो त मेरो छोरा ?’ प्रदीपकी आमा सन्ध्यादेबी चौधरीले रूदै भनिन्– ‘नेपाल सरकारका साथै सहयोगीहरूलाई खोज्न आवश्यक सहयोगका लागि अपिल गर्दछु ।’ उनको खोजि कार्यमा आवश्यक सहयोग गरिदिनुहुन नेपाल सरकारका साथै सञ्चारकर्मी, मानव अधिकारकर्मीहरुसँग पनि परिवारले अपिल गरेको छ । ३२ बर्षिय प्रदीपकुमार चौधरीको १३ बर्षका एक छोरी र ८ बर्षको एक छोरा र श्रीमती रहेका छन् ।

Advertisement

Advertisement

Advertisement