उदयपुरका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु

Advertisement

उदयपुर । निजी तथा आवासीय विद्यालयहरुले मात्र विगतमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आइरहेको बेला केही वर्षयता आएर उदयपुर जिल्लामा सरकारी विद्यालयले पनि धमाधम अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने क्रम बढाउँदै लगेका छन् । उदयपुर जिल्लामा सञ्चालन हुँदै आएका चार सय ५६ वटा सरकारी विद्यालयमध्ये अहिले त्रियुगा नगरपालिका, कटारी नगरपालिका, चौदण्डी नगरपालिका र बेलका नगरपालिकाभित्रका सरकारी विद्यालयहरुमध्ये करीब तीन दर्जन सरकारी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् ।

जिल्ला शिक्षा समन्वय एकाइ समिति उदयपुरका प्रमुख केदारप्रसाद गिरीले अहिले उदयपुरमा नयाँ शैक्षिकसत्रबाट झण्डै तीसभन्दा बढी सरकारी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको बताए ।

गत वर्षसम्म त्रियुगा नगरपालिका, कटारी नगपालिका र चौदण्डी नगरपालिकाका सरकारी विद्यालयले मात्र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको भए पनि यस वर्षको नयाँ शैक्षिकसत्रदेखि बेलका नगरपालिकाभित्रका केही दक्ष जनशक्ति भएका सरकारी विद्यालयले समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको जिल्ला शिक्षा समन्वय एकाइ समिति उदयपुरले बताएको छ ।

अहिलेका धेरै विद्यार्थी र अभिभावकहरुको चाहना नै अङ्ग्रेजी माध्यमबाट पठनपाठनको रुचि भएको हुँदा धेरै विद्यार्थी निजी विद्यालयहरुतर्फ आकर्षित भइरहेको बेला उदयपुरमा अहिले सरकारी विद्यालयहरुले धमाधम अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेपछि विद्यार्थी भर्नाको सङ्ख्या पनि ह्वात्तै वृद्धि गरेका छन् ।

जिल्लाको सदरमुकाम गाईघाट बजारमा अवस्थित जिल्लाकै नमूना सरकारी विद्यालयका रुपमा रहेको त्रियुगा नमूना विद्यालयले पहिलो पटक २०६७ सालबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरुको थालनी गरेपछि अहिले नयाँ शैक्षिकसत्र २०७६ साल आइपुग्दा तीन दर्जनको हाराहारीका सरकारी विद्यालय अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गराइसकेको पनि जिल्ला शिक्षा समन्वय एकाइ समिति बताउँछ ।

जिल्लाकै अब्बल नमूना सरकारी विद्यालयका रुपमा रहेको त्रियुगा नमूना माविमा यस नयाँ शैक्षिकसत्र २०७६ मा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न आउने नयाँ विद्यार्थीको सङ्ख्या सात सय नाघिसकेको कारण विद्यार्थी भर्ना नै बन्द गरिसकेको विद्यालयका प्राचार्य सुबास विष्टले बताए ।

यस्तै जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको त्रिवेणी मावि, चौदण्डी नगरपालिकाको बेल्टार बजारमा अवस्थित ज्योति माविमा अङ्ग्रेजी माध्यमबाट पठनपाठ गर्न आउने विद्यार्थीको चाप बढी भएपछि अहिले विद्यार्थी भर्ना नै बन्द गर्नु परेको विद्यालयका सम्बद्ध विद्यालयको प्राचार्यले बताए ।

विगतका वर्षमा धेरै विद्यार्थीको पठनपाठनको आकर्षणको केन्द्रविन्दु निजी तथा आवासीय विद्यालयहरु हुने गरे पनि अहिले सरकारी विद्यालयले समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेपछि विद्यार्थीको आकर्षण सरकारी विद्यालयतर्फ बढ्न थालेको त्रियुगा रामजानकी मावि गाईघाट मोतिगडाका पूर्वप्राचार्य शङ्करबहादुर थापाले बताए ।

सरकारी विद्यालयहरुले बर्सेनी अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्दै लगेपछि अहिले सरकारी विद्यालयहरुबाट निजी विद्यालयहरुतर्फ विद्यार्थीहरु विद्यालय छाडेर जाने क्रम पनि रोकिँदै गएको र सरकारी विद्यालयहरुमा विद्यार्थीहरु वृद्धि हुँदै गएको जिल्लाका शिक्षामा संलग्न सरोकारवाला निकाय तथा व्यक्तिहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement