कोटेश्वर–कलङ्की सडक खण्डको आकाशे पुल निर्माणमा ढिलाइ

Advertisement

काठमाडौँ । कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुलःनिर्माणमा ढिलाइ भएको छ । निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून छ ।

यो सडकमा छ स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । तीमध्ये तीन स्थानमा काम अघि बढे पनि तीन स्थानमा अघि बढ्न नसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए ।

उनका अनुसार काम गर्ने स्थानमा अरु कुनै बाधा नभए पनि ठेकेदार आफैँले ढिलासुस्ती गरिरहेको हो । उनले भने, “अवधि सकिएको पाँच÷छ महीना हुनलाग्दासमेत जगको कामभन्दा अघि बढ्न सकेको छैन ।” सडक निर्माणका क्रममा चीन सरकारले निर्माण गरेको तीन वटा आकाशे पुल अपर्याप्त भए पनि सरकारले थप पुल निर्माण शुरु गरेको थियो ।

चीन सरकारले गत माघमा नै नेपाल सरकारलाई आठ लेनको यो सडक हस्तान्तरण गरेको थियो । त्यसभन्दा पहिले नै सरकारले थप छ स्थानमा आकाशे पुल निर्माण शुरु गरेको थियो । पुल निर्माण भएपछि झण्डै एकदेखि डेढकिलोमिटरको दूरीमा एउटा आकाशे पुल हुनेछ ।

उनले भने, “नौ ठाउँमा आकाशे पुल भएपछि यात्रुलाई सडक काट्न सजिलो हुनेछ ।” सडक सुरक्षाका लागि सरकारले विभिन्न स्थानमा सडक चिह्न निर्माण गरिरहेको छ । सरकारले आठ लेन सडकको दायाँबायाँ गरेर दुबैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ ।

कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त

भूकम्पको पाँच वर्ष बितिसक्दा समेत पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन । मन्दिरको निर्माण गर्न तोकिएको अवधि सकिएर थप भएको समयमा समेत काम सम्पन्न हुन नसकेको हो ।

विसं २०७२ को भूकम्पका कारण पाटनका अरु सम्पदा जस्तै बङ्गलामुखीसँगै रहेको कुम्भेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरेर काम शुरु भए पनि त्यो अवधि सकिएर अर्को छ महिना थप भएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । थप भएको अवधि आगामी असारमा सकिने भए पनि काम सकिने देखिएको छैन ।

अहिले मन्दिर निर्माणका लागि आवश्यक काठको काम भइरहेको उनले बताए ।

उनका अनुसार ठेकेदार कम्पनीले ८० प्रतिशतसम्म काम सकाउँदा मात्रै अवधि थप हुनेछ । “ठेकेदारले काम सरासर गरिरहँदा अवधि थप गरिन्छ”, उनले भने, “हामी अवधि थपिरहने तर ठेकेदारले काम नगर्ने हुनुहुँदैन ।”

पाँच तले यो मन्दिरको छानाको काम सबै तलामा र पर्खालको काम तेस्रो तलादेखिमाथि मात्रै भइरहेको कार्यालयले जनाएको छ । प्रमुख प्याकुरेलका अनुसार शुरुमा सबै तलामा पुनःनिर्माण गर्ने कि बढी क्षति पुगेका तलामा मात्रै गर्ने भन्ने टुङ्गो लाग्न नसक्दा काम अघि बढ्न सकेको थिएन ।

त्यसपछि पनि स्थानीयवासीले त्यहाँ रहेका महत्वपूर्ण सामग्रीको सुरक्षामा चासो दिएको उनले बताए ।

यो मन्दिर १३ औँ शताब्दीमा राजा जयस्थिति मल्लले निर्माण गर्न लगाएको विश्वास गरिन्छ । पाटन दरबार क्षेत्रबाट झण्डै दुई सय मिटरको दूरीमा रहेको यो मन्दिरमा सोमबार र गोकर्ण औँसीको दिनमा दशनार्थीको भीड हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement