पशुलाई पनि सुत्केरी पोषण खर्च

Advertisement

रामपुर । पाल्पाको रामपुर नगरपालिकास्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले सुत्केरी गाईभैँसीका लागि पोषण खर्चअन्तर्गतको रकम वितरण गरेको छ । कृषकले पालेका गाईभैँसी सुत्केरी भएमा त्यसको स्वास्थ्यको हेरचाह गर्दै खाना औषधिको व्यवस्थापनका निम्ति रकम वितरण गरेको संस्थाका अध्यक्ष कमलराज भट्टराईले जानकारी दिए ।

नगरपालिकामा रहेका १५ कृषकलाई प्रतिपशु रु ६ सयका दरले रकम वितरण गरिएको संस्थाले जानकारी दिए । रामपुर क्षेत्रमा रहेका कृषकका हितमा रहेर दुई दशकदेखि काम गर्दै आएको सहकारी संस्थाले अहिलेसम्म २४६ पशुका लागि सुत्केरी खर्च वितरण गरिसकेको व्यवस्थापक भविनारायण मरासिनीले जानकारी दिए ।

त्यस्तै पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत बीमा गरिएको गाईभैंसी मरेमा समेत रकम प्रदान गरिँदै आएको छ । रामपुर– ६ तातोपानीका तुलसीराम भण्डारीलाई भैंसी मरेकाले बीमावापतको रु ४० हजारसमेत प्रदान गरिएको छ । बीमा वापतको रकम पाएपछि भैंसी मरे पनि आफूलाई सहकारीले सहयोग गरेकामा कृषक भण्डारी खुशी भएका छन् ।

उनले भने, “भैंसी मरेपछि सहकारीले दिएको रकमले घाटा भएको महसुस भएको छैन, फेरि अर्को भैंसी किनौंला ।” सहकारीले भकारो सुधार कार्यक्रम सम्पन्न गर्ने पाँच कृषकलाई प्रतिव्यक्ति रु पाँच हजार २०० प्रदान गरेको व्यवस्थापक मरासिनीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement