करोडौं खर्चेर ल्याएका ब्रुमरले धुलो बढार्न सकेन्, अझै ब्रुमर थप्दै महानगर

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘ब्रुमर’ भित्रायाउने भएको छ । मनपाले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ ।

मनपा प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नगर कार्यपालिकाको ३२औं बैठकमा यसबारे प्रस्ताव गरिएको छ । यसअघि मनपाले पाँचवटा ब्रुमर खरिद गरेको थियो । अहिले पनि त्यही कम्पनीमार्फत अन्य ब्रुमर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन लागेको मनपाले जनाएको छ ।

यसअघि कम्पनीसँग भएको सम्झौताअनुसार मनपालाई थप ब्रुमर आवश्यक परे त्यसबापत लाग्ने कूल रकममध्ये ५० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ । मनपाले इटालियन कम्पनीबाट खरिद गरेका पाँचवटा ब्रुमरका लागि ११ करोड रुपैयाँ खर्च गरेको थियो । यस आधारमा खरिदको प्रक्रियामा रहेका दुईवटा ब्रुमरका लागि मनपालाई २ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ ।

हाल सञ्चालनमा रहेका ब्रुमरबाट नगरक्षेत्रको धुलो नियन्त्रणमा उल्लेख्य प्रगति देखिएकाले थप दुईवटा ब्रुमर खरिद गर्न लागिएको मनपाको भनाइ छ । राजधानीको धुलो नियन्त्रणका लागि मनपाले ब्रुमर प्रयोगमा ल्याए पनि समस्या समाधान भने हुन सकेको छैन । हालसम्मको ब्रुमर सञ्चालनको अवस्थालाई हेर्दा सडकको अवस्थाका कारण यसको प्रभावकारितामाथि नै प्रश्न उठ्ने गरेको छ । धुलोको स्रोत पहिचान गरी घटाउन नसक्दा समस्या देखिएको वातावरणविद् बताउँछन् ।

वातावरणविद् सूर्यमान शाक्यले तत्कालका लागि समाधान देखिएपनि यो दीर्घकालीन सोच नभएको बताए । धुलोको स्थायी समाधानका लागि दीर्घकालीन सोचसहितको नीति बनाएर योजना लागू गर्नुपर्ने उनले बताए ।

रातभर ब्रुमरले सफा गरेर धुलो नियन्त्रण गर्दा समेत भोलिपल्ट उत्तिकै मात्रामा धुलो जम्मा हुने गरेको राजधानीवासीको गुनासो छ । ब्रुमर सञ्चालन गर्ने जिम्मेवारी पाएको मनपाको वातावरण विभागले प्रतिदिन सरदर १८ टनसम्म धुलो संकलन गर्ने गरिएको जनाएको छ । १२ चैतबाट सञ्चालित ब्रुमरले हालसम्ममा लगभग ३ सय ५० टन धूलो संकलन गरिसकेको विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । त्यस्तै, केही समयअघि मात्र काठमाडौंको सिको गर्दै ललितपुर महानगरपालिकाले पनि दुईवटा ब्रुमर खरिद गर्ने निर्णय गरेको छ ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement