रसुवा सुख्खा बन्दरगाह चीनले डेढ बर्षमै बनाइदिने, तातोपानी बन्दरगाह हस्तान्तरण गर्ने तयारी

Advertisement

काठमाडौं । रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणको काम जेठदेखि सुरु हुने भएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न सुक्खा बन्दरगाह निर्माण हुने भएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि चिनियाँ कम्पनी तिबेत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र नेपालको नेपाल इन्टरमोडल यातायात विकास समितिबीच आइतबार सम्झौता भएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट समितिका उपनिर्देशक हरेकृष्ण मिश्र तथा निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर याङ इनलिनले हस्ताक्षर गरेका छन् । करिब २ अर्ब रुपैयाँ लागत रहेको सुक्खा बन्दरगाह निर्माण सुरु भएको अढाई वर्ष (३० महिना)भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल र चीन सरकारको राजनीतिक सम्झौता तथा समझदारीअनुसार टिमुरेमा सुक्खा बन्दरगाह बन्ने भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा समितिका कार्यकारी निर्देशक नवराज ढकालले बताए । ‘चीन सरकारकै सहयोगमा तातोपानी नाकामा बनेको सुक्खा बन्दरगाह निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अब टिमुरेमा पनि छिट्टै निर्माण सुरु हुनेछ ।’ यसले दुई मुलुकबीचको आर्थिक–व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा लैजाने उनले बताए ।

कस्तो हुनेछ बन्दरगाह ?
चीन सरकारले सुक्खा बन्दरगाह निर्माणका लागि १२ करोड ४० लाख चिनियाँ युआन आर्थिक सहयोग गरेको छ । चीनले सुक्खा बन्दरगाह निर्माणका लागि प्राविधिक सहयोगसमेत गर्नेछ । रसुवा जिल्लाको टिमुरेमा करिब ५ हेक्टर क्षेत्रफलमा निर्माण हुने सुक्खा बन्दरगाहमा ३ सय ५० वटा ठूला ट्रक तथा कार पार्किङ गर्न सकिने गरी करिब ५ हजार वर्ग मिटरको ५ तले सीमा जाँचपास भवन बन्ने छ ।

यसमा करिब ७ सय ५० वर्ग मिटरको पार्किङ क्षेत्र, कुल २ हजार ८० वर्ग मिटरको २ वटा जाँचपास कक्ष कार्गो गोदाम, लिटिगेसन गोदामलगायत संरचना निर्माण हुनेछ । बन्दरगाह सुविधासम्पन्न सुक्खा बन्ने समितिले जनाएको छ ।

तातोपानी बन्दरगाह हस्तान्तरण हुँदै
सिन्धुपाल्चोकको लार्चामा चीन सरकारले तातोपानी सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको छ । मे २० अघि नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । मुलुकका उत्तरी नाकामा निर्मित सुक्खा बन्दरगाहहरूले नेपाल र चीनबीच हुने अन्तर्राष्ट्रिय व्यापारमा कोसेढुंगाको काम गर्ने समितिको भनाइ छ ।

सीमानजिकैको सुक्खा बन्दरगाह
सीमानाकाबाट करिब २.५ किलोमिटरको दूरीमा उक्त सुक्खा बन्दरगाहको निर्माण हुनेछ । सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक जग्गा नेपाल सरकारले व्यवस्थापन गरिसकेको छ । चीन सरकारका तर्फबाट उक्त सुक्खा बन्दरगाह निर्माणका लागि तिबेत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडलाई छनोट गरी सम्झौतामा हस्ताक्षर गर्न पठाएको हो ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement