कुलेखानी तेस्रो जलविद्युत् परीक्षण १५ दिनभित्र पूरा हुने

Advertisement

काठमाडौं । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण जेठ दोस्रो हप्ता पूरा हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको यो आयोजना १५ दिनभित्रमा सक्ने जानकारी दिएको छ।

विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिला गरिने सम्पूर्ण परीक्षण १५ दिनभित्र सम्पन्न गर्ने निर्णय प्राधिकरणले गरेको छ । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आइतबार नै समाधान गरिदिएको छ। उक्त आयोजना १४ मेगावाटको रहेको छ ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

प्रसारण लाइनको तीनमध्ये दुईवटा टावरको निर्माण सकिएको छ र कम्पनीले एउटा टावर बनाइरहेको छ त्यसपछि पाँच सय मिटर तार तान्नु पर्ने काम एक सातामा सक्ने कम्पनीले जनाएको छ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ।

कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना कुलेखानी तेस्रो सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएको हो। आयोजनाको सुरुको लागत दुई अर्ब ३३ करोड रुपियाँ भएपनि निर्माण अवधि बढेपछि यसको लागत चार अर्ब ६३ करोड रुपैयाँ पुग्न सक्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement