शिवम् सिमेन्ट्सको नाफामा १३ प्रतिशतको वृद्धि

काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपियाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ९३ करोड ६६ लाख रुपियाँ खुद नाफा कमाएको थियो । जुन गत आवको तुलनामा १३.०६ प्रतिशत बढी हो ।

कम्पनीले आईपिओ निष्काशन गर्दा सर्वसाधारणमा ४४ लाख कित्ताको प्रतिकित्ता २०० र स्थानीयबाट ८ लाख ८० हजारको प्रतिकित्ता १०० रुपियाँ प्रिमियम मूल्यमा सेयर जारी गरेको थियो। यसबाट कम्पनीको शेयर प्रिमियम कोषमा ९४ करोड २ लाख रुपियाँ र रिटेर्न अर्निङ तीन अर्ब ४४ करोड ११ लाख रुपियाँ सञ्चित भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपियाँ रहेको छ । त्यस्तै, सेयर प्रिमियम ९४ करोड रुपियाँ र रिर्टेन्ड अर्निङ ३ अर्ब ४४ रुपियाँ रहेको छ ।

चैत मसान्तसम्म कम्पनीले ८ अर्ब ३७ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । जुन पुस मसान्तको तुलनामा ३ अर्ब रुपियाँले बढी हो । त्यस्तै, बिक्री लागत ५ अर्ब ३७ करोड रुपियाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३२.०९ रुपियाँ र प्रतिसेयर नेटवर्थ ११९.८८ रुपियाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३०२.८७ रुपियाँ र तरलता अनुपात १.७४ रहेको छ ।