सरकारले बेरोजगारलाई दिने भनेको भत्ता यो वर्ष वितरण नहुने

Advertisement

काठमाडौं। सरकारले बेरोजगारलाई दिने भनेको भत्ता यो वर्ष वितरण नहुने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई सकेसम्म काम उपलब्ध गराउने र नसके भत्ता दिने भन्दै सुरु गरिएको योजना यस वर्ष पूर्ण कार्यान्वयनमा नआउने भएको हो।

सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्यमार्फत् यो कार्यक्रम सञ्चालन गर्न तिन अर्ब १० करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। कार्यक्रमको पूर्वतयारीका लागि खर्च भएको रकमबाट बचेको दुई अर्ब ३६ करोड रुपियाँ खर्च गर्न स्थानीय तहलाई निर्देशन दिए पनि यो वर्ष भत्ता भने दिइने छैन। कार्यक्रम तयारीमा केही रकम खर्च भएको थियो, त्यो रकममध्येबाट बचेको दुई अर्ब ३६ करोड रुपियाँ निर्धारित शुत्रअनुसार सबै स्थानीय तहमा शशर्त अनुदानका रुपमा उपलब्ध गराइएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस कार्यक्रमअन्तर्ग विनियोजित बजेट कार्यान्वयनका लागि सम्पूर्ण स्थानीय तहलाई आइतबार निर्देशन दिएको छ। यो कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो।

सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तिमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने भन्दै यो कार्यक्रम सुरु गरेको थियो। त्यसका लागि प्रत्येक स्थानीय तहमा दुई चरणमा रोजगार संयोजक नियुक्त गरिएको छ।

श्रम मन्त्रालयले चैत १२ गते गरेको परिपत्रअनुसार रोजगार संयोजक रोजगार सूचना केन्द्र स्थापना गर्न उपकरण खरीदमा दुई लाख ८६ हजार रुपियाँ खर्च गर्न पाउँछन्। यसका लागि देशभर २१ करोड ५३ लाख रुपियाँ बजेट खर्च हुनेछ।

Advertisement

Advertisement

Advertisement