सुशासन हासिल गर्नेगरी बजेट आउँछः बिष्णु पौडेल

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रममा भनिएझैं आगामी वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्षका रूपमा हासिल गर्ने बजेट आउने जिकिर गरेका छन् ।

संसद्मा सोमबार आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल कार्यक्रममा उनले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले आर्थिक वर्षलाई इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुने किसिमले बजेट आउने दावी गरेका हुन् ।

पौडेलले भने, “विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले के कुरा स्पष्ट गरेको छ भने आगामी वर्ष विगतका सबै अधुरा योजनालाई सम्पन्न गर्छौं भन्ने अठोट गरेको छ । विकास अभियानका सन्दर्भमा यसले नयाँ र गुणात्मक सन्देश यसले दिन सक्नेछ ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाअनुसार आर्थिक विकास, समाजिक न्याय र सुशासन हासिल गर्ने उद्देश्य विनियोजन विधेयकले गरेको उनको भनाइ थियो । पौडेलले भने, “सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास, क्षमताअनुसार कामको अवसर र मर्यादित रोजगारी, फराकिलो दायराको सामाजिक सुरक्षा र गुणस्तरीय पूर्वाधार सुनिश्चित गर्ने सङ्कल्प विधेयकले बोकेको छ ।”

अर्थमन्त्रीसमेत भइसकेका उनले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमार्फत सुशासनको स्थापना गर्ने, प्रगतिशील र लगानीमैत्री राजश्व प्रणालीलाई अवलम्बन गर्ने प्रकारको सङ्कल्प पनि विधेयकले अघि सारेको बताए । विनियोजन विधेयक खाद्य सुरक्षा, रोजगारी, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षाजस्ता मौलिक हक तथा जनताको सम्मानजनक जीवनयापनको पक्षमा उभिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement