झिटी गुन्टाका नाममा अनधिकृतरुपमा सामानहरुको आयात बढ्दो, उपभोक्ता पनि मारमा

Advertisement

काठमाडौं । विदेशमा काम वा अध्ययनका सिलसिलामा बसेर आएकाहरुलाई घर फर्किँदा आफ्ना सामान ल्याउने इच्छा हुनु स्वाभाविक हो । तर त्यस्ता सामान ल्याउँदा सम्वन्धित् व्यक्तिले निकै झन्झट र जोखिम व्यहोर्नुपर्ने बाध्यता छ भने सरकारले समेत ठूलो राजश्व गुमाउँदै आएको छ ।

झिटीगुन्टाका रुपमा हरेक दिन ठूलो परिणाममा टिभीदेखि ल्यापटप, कम्प्युटर, ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, मोबाइल फोन, पेन ड्राइभ जस्ता थुपै्र सामानहरु भित्रिने गरेको छ । विदेश बसेर आउनेहरुमध्ये अधिकांशले ‘भन्सार तिर्नु पर्दैन’ भन्ने नाममा नयाँ सामान किनेर ल्याउने प्रवृत्ति देखिन्छ । त्यसले एकातिर बिप्रेषण आयमा असर परेको छ भने अर्कोतर्फ स्वदेशी उत्पादनहरुको बिक्री घटेर राजश्वदेखि रोजगारीसम्म असर परिरहेको छ ।

टेलिभिजनको मात्रै कुरा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सरदर डेढसय टेलिभिजनहरु भित्रिने गरेको भन्सार विभागको तथ्यांक छ । त्यसबाहेक स्थल नाकाहरुबाट भित्रिने यस्ता टिभीहरुको कति छन् भन्ने कुरा स्वयम विभागसँग पनि छैन् । भन्सार छुट पाइने भन्दै अरु थुप्रै इलेक्ट्रोनिक्स तथा घरायसी सामानहरु नेपाल भित्रिँदै आएका छन् ।

त्रिभुवन विमानस्थलबाटै नेपाली सेनादेखि प्रहरी, निजामती कर्मचारीका उच्च अधिकारी र राजनीतिक नेतृत्वले ल्याउने टिभीसहितका अन्य यस्ता सामग्रीहरुरेकर्ड र जाँचसमेत हुँदैन् । यसले झिटी गुन्टाका नाममा अनधिकृतरुपमा बाहिरबाट निकै ठूलो परिमाणमा सामानहरु नेपालमा डम्पिङ हुने गरेको देखिन्छ ।

झन्झट र जोखिम
नेपालमै कुनै पनि ब्राण्डको टेलिभिजन किन्दा सम्वन्धित कम्पनीले वारेन्टीसहित अफरहरुसमेत दिइरहेको देखिन्छ । चाडपर्व र नयाँ बर्ष जस्ता समयमा विशेष अफरसमेत हुन्छ । तर बिदेश बसेर आउनेहरुले थोरै सस्तो मूल्यको लोभमा विदेशबाट टिभी ल्याउने जोखिम मोल्छ ।

त्यसरी ल्याउँदा सामान भन्सार प्रशासनले दिने झन्झट र सामान लोडअनलोड गर्दा हुने टुटफुटको जोखिम, ढुवानी खर्चको मूल्य सम्वन्धित व्यक्तिले मूल्यांकन गरेकै हुँदैन् । मोवाइल, घडीसहित अन्य महंगा बस्तुहरु भन्सारमै हराउने, चोरी हुने गरेका समाचारहरु नियमितरुपमा सुनिँदै आएको छ । सेना प्रहरी र निजामती कर्मचारीले विदेश घुमेर आउँदा यस्ता सामानहरु सजिलै भन्सार पास गराउन सक्छन् । तर विदेश बसेर साच्चिकै झिटी गुन्टाको रुपमा सामान ल्याउनेहरुलाई कुन सामानमा भन्सार छुट हुन्छ रु कुन सामानमा भन्सार तिर्नुपर्छ रु कुन सामानको भन्सार दरबन्दी कति हो रु भन्ने कुरा थाहा हुँदैन । त्यो कुरा थाहा नहुँदा उनीहरुले ठूलै सास्ती भोग्नुपर्ने बाध्यता छ ।

वारेन्टी छैन्
विदेशबाट आउनेहरुले नाम सुनेका ब्राण्डका सामानमात्रै ल्याएका हुँदैनन् । नामै नसुनेका ब्राण्डका सामानहरुसमेत बोकेर आएको देखिन्छ । नेपालमै समेत चलेका ब्राण्ड भए पनि ती ब्राण्डका सामान बेच्ने कम्पनीहरुले विदेशमा किनिएका कारण वारेन्टी वा बिक्रीपछिको सेवा ९आफ्टर सेल्स सर्भिस० दिँदैनन् । महंगो मूल्य तिरेर किनिएका त्यस्ता सामान बिग्रिएमा मर्मत गर्नेहरुले आफूखुशी चर्को मूल्य अशुल गर्ने, मर्मतको सुनिश्चिततासमेत नहुने, स्पियर पार्ट नै नपाउने, बनाउन फेरि सम्वन्धित मुलुक नै लैजान पनि नसकिने हुन्छ । धेरै उपभोक्ताले यो समस्या भोग्दै आएका छन् ।

त्यही सामान नेपालमा किन्दा ग्राहकले सम्वन्धित बिक्रेतासँग टेबुल ठटाएर आफ्नो सामानको वारेन्टी वा क्षतिपूर्ति दावी गर्नसक्ने अवस्था हुन्छ । तर विशेषगरी खाडी मुलुकमा काम गर्ने जाने युवाहरुमा यस्ता कुराको राम्रो ज्ञान नहुँदा उनीहरु ठगिनुपर्ने बाध्यता रहँदै आएको छ । यसरी बाहिरबाट ल्याइएका सामानहरु बिग्रिएमा मर्मत गर्नेले महिनौ झुलाएर मर्मत गर्ने र मर्मत गरे पनि तुरुन्तै बिग्रिने गरेबाट सम्वन्धित उपभोक्ता दोहोरो मारमा पर्ने गरेको देखिन्छ ।

राजश्वदेखि रोजगारी सिर्जनासम्म असर
उदाहरणको रुपमा विदेशमा लगातार १२ महिनासम्म बसेर फर्किनेहरुले ३२ इन्चसम्मको जुनसुकै ब्राण्डको एउटा टेलिभिजन लिएर आउन सक्छ । त्योभन्दा बढि इन्चका टेलिभिजनमा ५५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । भन्सार नलाग्ने भएकाले अधिकांश ३२ इन्चसम्मकै टेलिभिजनहरु बिदेश बसेकाले ल्याउने गरेको देखिन्छ । त्रिभुवन विमानस्थलबाट ल्याइने यस्ता टेलिभिजनहरुको संख्या मात्रै दैनिक डेढ सयको हिसावले बर्षको ५४ हजार ७५० संख्या हुन्छ । बजार मूल्यका हिसावले प्रतिगोटा सरदर २७ हजारका दरले करिव डेढ अर्ब रुपियाँ हुन्छ ।

यो तर एउटा टेलिभिजनको मात्रै उदाहराण हो जुन त्रिभुवन विमानस्थलबाट भित्रिने गरेको छ । स्थल नाकाबाट भित्रिने भन्सार जाँच गरेरै भित्रिने र चोरी पैठारी गरेर भित्रिने यस्ता टेलिभिजनहरुको हिसावकिताव निकै ठूलो हुने देखिन्छ । टेलिभिजनबाहेक अरु थुप्रै इलेक्ट्रोनिक्स तथा घरायसी सामानहरु यसरी नै भित्रिँदै आएका छन् । यसले एकातिर राज्यलाई बर्षेनी राजश्वमा करोडौंको नोक्सानी भइरहेको छ भने विदेशबाट नेपालमा अनधिकृतरुपमा सामानहरु आउँदा कर तिरेर व्यवसाय गर्दै आएका स्वदेशी कम्पनीहरुसमेत मारमा परेका छन् । यसको असर रोजगारी सिर्जनामा समेत पर्ने स्वाभाविक अनुमान गर्न सकिन्छ ।

व्यापार घाटाले सीमा नाघिरहेको बेला झिटी गुन्टाका नाममा भित्रिने ठूलो परिणामका सामानहरुमा कडाई गर्न सरकारले आँट गरेको छैन् । यसले स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने काम गरेको छ । केपी ओली नेतृत्वको सरकारले विदेशवाट आउँदा ल्याइने सामानमा कडाई गर्ने भनिए पनि ‘एयरपोर्ट दुःख दिइएको’ भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि कडाई गर्न छोडिएको छ ।

भन्सार छुटको फाइदा उठाउन विदेशवाट आउँदा कोशेलीका रुपमा रक्सीदेखि टिभीसम्म सकिनसकी सामानको भारी बोकेर आउने प्रवृत्ति नेपालीमा छ । एक पैसा भए पनि नेपालमै खर्च गरौं भन्ने भावनाको विकास हुन सकेको छ्रैन् । नेपालमै सर्बसुभलरुपमा पाइने बस्तु गुणस्तरीय हुँदाहुँदै पनि विदेशी नै चाहिने प्रवृत्ति नेपालीहरुमा बढ्दै गएको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement