निसानको नाफामा ५७ प्रतिशतले गिरावट

Advertisement

टोकियो । आर्थिक रूपले संकटग्रस्त जापानी कार कम्पनी, निसानले मंगलबार आफ्नो यस आर्थिक वर्षको नाफा यो दशकमा नै सबैभन्दा न्यून रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

कम्पनीले सन् २०१९ को मार्चसम्ममा आफ्नो नाफा जम्मा दुई अर्ब ९० करोड अमेरिकी डलर (तीन खर्ब १९ अर्ब जापानी येन) रहेको र यो नाफा रकम विश्वले आर्थिक मन्दीको सामना गरिरहेको सन् २००९/२०१० पछिकै सबैभन्दा न्यून रहेको बताएको छ ।

निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि कम्पनीको कारोबारमा समस्या देखिएको हो ।

नेतृत्वको अभावको सामना गरिरहेको कार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ५७ प्रतिशतले घटेको बताइएको छ । चालू आवमा निसानको घाटा एक खर्ब ७० अर्ब जापानी येन रहने प्रक्षेपण कम्पनीको रहेको छ ।

‘कार्यसम्पादन एकदमै चुनौतीको अवस्थामा रहेको छ तर हामीले यसलाई सुधार गर्ने प्रयासमा लागिरहेका छौँ’, निसानका प्रमुख कार्यकारी अधिकारी शिरोतो साइकावाले भने, ‘मंगलबारको तथ्याङ्कले कम्पनीलाई अपेक्षाभन्दा निकै न्यून नाफा भएको देखाउँछ । कृपया हामीलाई पुरानो अवस्थामा फर्कने समय दिनुहोस् ।’

कम्पनीका प्रमुख रहेका समय गोउनको पक्राउले कम्पनीलाई एकातिर नेतृत्वको समस्या भएको देखिन्छ भने अर्कोतिर कम्पनीमा भएको अनियमितताको खबरले कम्पनीको ख्यातिसमेतमा प्रभाव परेको छ । गोउनमाथि आर्थिक अनियमितताका विभिन्न चार आरोप लागेका छन् भने उनले ती आरोपको खण्डन गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement