ओली पहिलेदेखि संघीयता विरोधी हुन्, यिनले संघीयता सफल हुन दिँदैनन्ः गगन

gagan

सुर्खेत । कांग्रेस युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारले संघीयता चलाउन असफल भएको बताएका छन् । सुर्खेतमा आयोजित कांग्रेसको जागरण अभियानको कार्यक्रममा उनले सरकार संघीयता चलाउन नसकेको बताए ।

नेता थापाले दुईतिहाई बलियो सरकार भए पनि संघीयता कार्यान्वयन गर्नेदेखि आर्थिक विकासलाई गति दिनेसम्मका कुरामा सरकार असफल भएको भन्दै संघीयताको मर्मअनुसार काम गर्न ओली सरकारले आनाकानी गर्दै आएको बताए । उनले भने, ‘केपी ओली नेतृत्वको सरकार इतिहासकै बलियो हो, संविधानको कार्यान्वयन, संरचना निर्माण र ठूला आयोजनाका काम गरेर जनतासमक्ष परिणाम देखाओस् भन्ने अपेक्षा कांग्रेसको हो। तर, त्यो गर्न सकेन।’

थापाले वीपी कोइरालालाई सम्झिदै राजासँग आधा शक्ति रहेको, राजाले नै दिएको संविधान, राजाले चाहेको बेला निलम्बन गर्न सक्ने संविधान टेकेर जनमतका आधारमा बीपीले सरकार चलाएको बताउँदै तर अहिले दुईतिहाई बहुमतको अनुकुल परिस्थितिमा पनि सरकार काम गर्न असफल देखिएका बताए ।

‘संघीय व्यवस्थालाई बलियो बनाउन सरकारले ढंगले काम गर्न नसकेको उनको भनाई छ । थापाले विगतमा प्रधानमन्त्री ओली संघीयतामा चरम अरुची राख्दै पटकपटक नेपालमा संघीयता नफाप्ने बताउँदै आएको स्मरण गर्दै अहिले सबै तहका सरकारलाई अधिकार नदिइएर असफल बनाउन खाजेको तर्क गरे ।

संघीयता बलियो बनाउन र टिकाउन केन्द्रभन्दा स्थानीय सरकारले काम राम्रो गर्नुपर्ने भन्दै थापाले अहिले परिस्थिति त्यस्तो नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले संघीयताका आधारभूत कुरालाई स्वीकार गर्न मान्नुभएन्, जसले गर्दा प्रदेश अधिकारबिहिन भएका छन्, मुख्यमन्त्री प्रधानमन्त्रीका फोटोकपी जस्तै देखिन थाल्नुभएको छ, एकपछि अर्को अधिकार खोसिदै गएको छ।’