नायिका पुजना प्रधानले आयोजना गरेको ‘द सुपर मम’मा आर्थिक चलखेलमा ताज किनबेच

Advertisement

काठमाडौं । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधली गरेको भन्दै पीडितहरुले सार्वजनिकरुपमा गुनासो पोखेका छन् ।

उनीहरुले शुक्रबार पत्रकार सम्मेलन आयोजकले अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पुर्याउने काम गरेको बताए । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले आफूहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरे ।

प्रतियोगितामा सहभागी दश जना प्रतियोगीहरुले एकै स्वरमा आयोजकले धाँधली गरेको खुलासा गरेका हु्न । नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको पीडितहरुको गुनासो छ ।

उनीहरुकाअनुसार उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए । निर्णयकर्ताहरुको निर्णयलाई बेवास्ता गरि आयोजक पूजना प्रधानले एक्लैले के उद्देश्यका लागि निर्णय गरिन् ? भन्दै उनीहरुले प्रश्नसमेत तेर्साए । उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘७ जना निर्णयकर्तामध्येबाट पनि ३ जनाको निर्णयलाई हामी आमाहरुसमक्ष किन ल्याईएन ?’ आएका निर्णयहरु पनि तलमाथि गरि नम्बर घटाउने र बढाउने काम गरेको पुष्टि हुन आएको पनि उनीहरुको दाबी छ ।

आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै पीडितहरुले असन्तुष्टि पोखे । आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना बनाएको खुल्न आएको प्रतियोगीहरुको दाबी छ ।

प्रतियोगितामा सहभागीमध्येकी एक र प्रतियोगितामा सेकेण्ड रनरअपको ताज पाएकी र हाल ताज फिर्ताको घोषणा गरेकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएकोले आफूहरुले पाएको ताजसमेत फिर्ता गरेको बताइन् । उनले भनिन्, ‘यो प्रतियोगिता समाजभित्र पिल्सिएर बसेका महिलाहरुलाई सशक्त बनाउनु थियो । तर, आयोजकको तर्फबाट महिलाहरुको भावनामाथि खेलबाड गर्ने प्रयास भयो । हामीहरुलाई सौन्दर्यको वस्तु बनाईयो । यसमा हाम्रो गम्भिर आपत्ति छ ।’

शर्माले आयोजकले आफूहरुलाई गुमराहमा राखी निर्णयकर्ताहरुको निर्णयलाई समेत अवमूल्यन गरेको गुनासो पोखिन् । उनले थपिन्, ‘निर्णयकर्ताहरुको निर्णयलाई लुकाइएको कुरा हामीसँग प्रमाण सुरक्षित छ । अहिलेसम्म सायद नेपालमै यस्तो धाँधली र पूर्व सुनियोजित तवरले प्रतियोगिता भएको छैन होला । आखिर, पूर्व तयारीअनुसार नै विजेता बनाउने हो भने प्रतियोगिताको आयोजना गर्नुको के महत्व हुन्छ ?’्

पुजना प्रधानले आफूहरुजस्ता आमाहरुलाई सौन्दर्य प्रदर्शन गराई गलत फाईदा उठाई कमाउ धन्दामा लागेर अयोग्य र असक्षम प्रतियोगीलाई ताज जिताउन आर्थिक सम्झौता गरेको आफूहरुले पेश गरेको कागजजातले पुष्टि गरेको प्रतियोगितामा सहभागी प्रतिस्पर्धी निलम श्रेष्ठले दाबी गरिन् ।

श्रेष्ठले भनिन्, ‘यो प्रतियोगितामा पैसाको चलखेलमा पहिलो विजेता बनेकी थाईल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज नेपालमै फिर्ता गरिनुपर्छ ।’ प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनको लागि सोधिने प्रश्नपत्र आउट गरिएको र प्रतियोगीकी बुहारीलाई त्यसै कार्यक्रममा सहभागी गराई सम्पूर्ण निर्णयकर्ताको निर्णय निज बुहारीले संकलन गरेको प्रत्यक्ष दर्शक र आफूहरु प्रतियोगीहरुले देखेको कुरा पनि पुष्टि हुने उनीहरुको दाबी छ ।

कार्यक्रममा बोलाईएका संचारमाध्यम र फोटोग्राफरलाई मन परेका प्रतियोगीहरुलाई मात्र अग्रसर गराई पक्षपात ढंगले उनीहरुमाथि मात्रै केन्द्रित गरिएको पनि प्रतियोगीहरुको भनाई छ । त्यस्तै, फोटोजेनिक हुनै नसक्ने प्रतियोगीलाई फोटोजेनिक अवार्ड दिईएको उनीहरुको अर्को आरोप छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘पुजना प्रधानले आफ्नो हिट्लर शैलीमा हामी सोझा साझा आमाहरुलाई प्रयोग गरि उनको आर्थिक र सामाजिक प्रतिष्ठा कमाउन हामीलाई किन प्रयोग गरियो ?’

एक्काईसौं शताब्दीमा पनि महिलाले महिलाहरुमाथि यति शोषण गर्ने घरभित्रका आमाहरुलाई शसक्त बनाउने बहानामा उल्टै आर्थिक र सामाजिक शोषण गर्ने सौन्दर्यको प्रदर्शन गराई आफूहरुको आत्मासम्मानमा नै आँच आउने काम गर्ने व्यक्तिलाई कानूनी कठघरामा उभ्याई कारबाही गर्नुपर्ने पनि उनीहरुको माग छ ।
प्रतियोगितामा सहभागी अर्की प्रतिस्पर्धी सुष्मा कार्कीले निर्णायकहरुको नम्बरको आधारमा आफू तेस्रो हुनुपर्नेमा उपाधिविहीन बनाईएको बताइन् । त्यस्तै, उनले शीर्ष दशभित्र पनि आउन नसक्ने प्रतिस्पर्धी एमी कर्माचार्यलाई फष्ट रनरअप र बाला राईलाई तेस्रो विजेता बनाईएको दाबी गरिन् ।

सम्पूर्ण निर्णयकर्ताहरुको निर्णय आफूहरुलाई दिन नसकेको र आएको निर्णयहरु पनि केरमेट भएकोले आफूहरुमाथि ठूलो अन्याय भएको भन्दै प्रतियोगितामा लागेको सम्पूर्ण खर्च आयोजकले फिर्ता दिनुपर्ने उनीहरुले माग गरे ।

प्रति व्यक्ति एक लाख ५० हजारका दरले आफूहरुको खर्च भएको भन्दै उनीहरुले आयोजक पुजनाले उक्त रकम फिर्ता गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरु निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए ।

super mom

Advertisement

Advertisement

Advertisement