नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला सुरु

Advertisement

बेत्राबती । नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवा बजारमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ । पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे ।

विद्युतीय उपकरणमार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताए । “कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणका लागि किसानको नेता बोगटीको सपना पूरा गर्नका लागि मेला सान्दर्भिक बनेको छ”, उनले भने, “विकास, समृद्धि र रोजगारका लागि कृषि मुख्य आधार भएकाले यसको व्यवसायीकरण र आधुनिकीकरणमा सरकारले प्रमुख प्रथामिकता दिनुपर्दछ ।”

अहिले पनि बहुसङ्ख्यक नागरिक कृषि पेशामा आबद्ध भएका छन् तर वार्षिक अर्बौं रुपैयाँ खर्चिएर आयात भइरहेको कृषि सामग्री र उपकरण हटाउन सरकारले अनुदान, बजारीकरण र कृषि पेशालाई सम्मानित बनाउनुपर्ने प्रचण्डको भनाइ छ ।

मेलामा नेकपाका नेता पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्य केशवराज पाण्डे, बद्रीप्रसाद मैनाली, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रामशरण महतलगायतका वक्ताले दिवङ्गत नेता बोगटीले कृषकको अधिकार स्थापना र रानीतिमा किसानको सहभागितामार्फत पुर्‍याएको योगदानको स्मरण गरे ।

मेलाको अवलोकन गर्न पहिलो दिन आज पूर्वमन्त्री जनार्दन शर्मा, अग्नि सापकोटा, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलगायतककनीको रानीपौवा आए । आजदेखि शुरु भएर पाँच दिनसम्म चल्ने मेलामा ९० वटा कक्ष राखिएका छन् । स्थानीय कृषि उत्पादन, कृषि सामग्री र कृषि परामर्श केन्द्रका लागि निःशुल्क कक्ष उपलब्ध गराइएको छ भने बाँकीलाई व्यावसायिक प्रयोजनका लागि उपलब्ध गराइएको छ । मेलामा नुवाकोटका १२ वटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।

मेलामा आकर्षकका रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरबेंसीको चामल, पिँडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका छन् । यसैगरी, पशुचौपायअन्तर्गत बाख्रा, बोयर र जमुनापारी जातका बोका, खसी बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा कृषि औजार, यान्त्रिकीकरण, तरकारी एवं फलफूलको बीउ, बिरुवासमेत उपलब्ध छन् ।

तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय अध्यक्षसमेत भएर कृषि क्षेत्रमा योगदान पुर्‍याएका बोगटीको विसं २०७१ भदौ ३० गते हृदयाघातका कारण निधनको भएको थियो । मन्त्रीसमेत भएका उनले पुर्‍याएको योगदानको जनस्तरसम्म स्थापित गराउन पार्टीले विसं २०७२ असोज २८ गते ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ गठन गरेको थियो ।

उक्त प्रतिष्ठानको आयोजनामा दिवङ्गत नेता बोगटीको निष्ठा र आदर्शलाई जनस्तरमा पुर्‍याउन र कृषिमार्फत आर्थिकरुपमा मुलुकलाई समृद्धितर्फ लैजानका लागि शनिबारदेखि पाँचदिने कृषि मेला आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष हीतराज पाण्डेले जानकारी दिए । करीब ५० हजार अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको मेलाको सहआयोजक रहेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए ।

उनको अनुसार प्रदर्शनी स्थल नुवाकोटका लागि मात्र नभई रसुवा र धादिङका लागि मध्यबिन्दु र काठमाडौँबाट २७ किमी दूरीमा रहेकाले अवलोकनकर्तालाई सहज हुने विश्वास लिइएको छ । मेलामा रु दुई करोड कारोवार हुने लक्ष्य राखिएको छ ।

Advertisement

Advertisement

Advertisement