उखुको रकम भुक्तानी नपाएपछि किसानहरुले सुरु गरे अनशन

Advertisement

मलंगवा । चिनी मिलले उखुको तीन आर्थिक बर्षदेखिको भुक्तानी नदिएको भन्दै सर्लाहीका किसानहरुले आइतबारदेखि रिले अनशन सुरु गरेका छन् । आफूहरुको बाँकी रकम ७२ घण्टाभित्र भुक्तानी हुनुपर्ने माग सरकारले सुनुवाई नगरेको भन्दै किसानहरुले अनशन सुरु गरेका हुन् ।

मलंगवाको सहिद चौकमा रिले अनसनमा बसेका उनीहरुले जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्रको कुनै सुनुवाई नभएपछि पूर्वघोषित कार्यक्रमअनुसार आफूहरुले अनशन सुरु गरेको उखु किसानहरुको भनाई छ । उनीहरुका अनुसार चिनी उद्योगीहरुले उखु लगेर प्रशोधन गरी चिनी बिक्री गरेपछि पनि महिनौसम्म भुक्तानी नदिने गरिएको छ ।

उनीहरुले रकम भुक्तानीको माग गर्दै गत वैशाख ३१ गते जिल्ला प्रशासन कर्यालय सर्लाहीमा ज्ञापन‍पत्र बुझाएका थिए । ज्ञापनपत्रको कुनै सुनुवाई नभएपछि ती सुत्रीय मागसहित किसानहरुले अनशन सुरु गरेका हुन् । किसानहरुलाई राजनीतिक दलका नेताहरुले पनि साथ दिएका थिए । अनशनमा राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री राकेश मिश्र पनि सहभागी थिए ।

किसानहरुले आफूहरुका मागको सुनुवाई नभएसम्म अनसन बस्ने बताउँदै आउँदा दिनमा थप दबाबमूलक कार्यक्रमहरु ल्याउने बताए । उनीहरुले उखुको रकमको भुक्तानीसँगै चिनी उद्योगहरुद्धारा एकपक्षीय रुपमा कायम गरिएको प्रति क्वीन्टल ५ सय रुपियाँको रेट खारेज गरी सरकारले निर्धारण गरेको ५३६ रुपियाँ लागू हुनुपर्ने, जर्तीको नाममा उखुमा प्रति क्वीन्टल २० प्रतिशतसम्म काट्ने काम बन्द हुनुपर्ने माग पनि राखेका छन् ।

Advertisement

Advertisement

Advertisement