मेशिनमा आगो लागेपछि हेटौंडा सिमेन्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

Advertisement

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा उपमहानगरपालिका–९ मा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर (कच्चा पदार्थ)को उत्पादन बन्द भएको छ । उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चापदार्थको उत्पादन बन्द भएको हो ।

उद्योग प्रशासनका अनुसार उत्पादन गर्ने मुख्य सञ्चालकको मोटरमा आगो लागेपछि उत्पादनमा समस्या आएर क्लिङ्कर उत्पादन बन्द भएपछि सिमेन्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । करीब तीन हप्ताअगाडि देखि दुई हजार ३०० किलोवाटको कच्चापदार्थ उत्पादन गर्ने मेशिन बिग्रिएका कारण उत्पादन ठप्प भएको हो ।

उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहका अनुसार उद्योगमा हाल क्लिङ्कर र अन्य कच्चापदार्थको मौज्दात रहेकाले त्यसबाट सिमेन्ट उत्पादन भइरहेको छ । तर मेशिन बिग्रेका कारण लक्ष्यअनुसारको उत्पादनमा भने समस्या रहेको उनले जानकारी दिए । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको सो उद्योगमा करीब दुई लाख बोरा सिमेन्ट उत्पादन गर्ने कच्चापदार्थ क्लिङ्कर मौज्दात छ ।

यन्त्र मर्मतका लागि वीरगञ्ज पठाइएको महाप्रबन्धक सिंहले बताए । मर्मतका लागि रु २२ लाख खर्च हुने भएकाले उक्त रकम छुट्याइसकेको समेत उनले जानकारी दिए । केही समयदेखि उद्योग नाफामा गएको र उपभोक्ताको माग अत्यधिक भएको उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेन्ट उत्पादनको लक्ष्य राखेको थियो । यन्त्र बिग्रेका कारण यस आवमा लक्ष्यमा नपुग्ने उनको भनाइ छ ।

नयाँ यन्त्र खरीद गर्न ठूलो रकम लाग्ने भएकाले बोलपत्रसमेत आह्वान गरिएको उद्योग प्रशासनले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उक्त मेशिन खरीदमा रु तीन करोड लाग्ने अनुमान गरिएको छ । हाल सो उद्योगमा मजदूर तथा कर्मचारी र प्राविधिक गरी करीब ६०० जना कार्यरत छन् । हालै मात्र नाप तथा गुणस्तर कार्यालय वीरगञ्जले पनि सिमेण्ट उद्योगको क्यालिब्रेसन जाँच गरेको छ ।

Advertisement

Advertisement

Advertisement