साँसद एकवाल मियाँ र प्रदीप यादवको जिकिरः  गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा गयौँ

Advertisement

काठमाडौं । प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बत सम्बन्धी सम्मेलनमा पठाएको भन्दै दुःख व्यक्त गरेका छन्। सांसदद्वयले विज्ञप्ति जारी गर्दै व्यक्तिगत हैसियतमा टर्की, स्वीजरल्याण्ड र लात्भियाको भ्रमणमा गएका बेला लात्भियाको राजधानी रिगामा सांसदहरूको अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको भन्ने सूचनाका कारणले आफूहरू सम्मेलनमा सहभागी हुन पुगेको बताएका हुन्।

गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरुको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो। आफूहरुले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीलाई सांसद मियाँले बताए।

जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौ,सांसदद्वय मियाँ र यादवले संयुक्तरुपमा जारी गरेको वक्तव्यमा भनिएको छ।

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तरराष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनीहरुले बताएका छन्। प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।

Advertisement

Advertisement

Advertisement